फेरिए तीन प्रदेशका प्रमुख, कर्णालीमा तिलक परियार

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन्। जसअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेस, कर्णालीमा नेकपा माओवादी केन्द्र र प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ।

सरकारले प्रदेश १ बाट एमालेका तत्कालीन नेता समेत रहेका सोमनाथ अधिकारी प्यासीलाई हटाएको हो।

त्यस्तै कर्णालीबाट गोविन्दप्रसाद कलौनीलाई हटाइएको हो । सुदूरपश्चिमबाट गंगाप्रसाद यादवलाई बिदा गरिएको छ। यी तीनैजनालाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको थियो ।

कर्णाली प्रदेश प्रमुखमा सिफारिस भएका परियार यसअघि प्रदेश २ प्रमुख थिए । माओवादी केन्द्रनिकट उनलाई यसअघि ओली सरकारले बर्खास्त गरेर राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुख बनाइएका जोशी कांग्रेस बाजुराका पूर्वसभापति तथा संविधानसभा सदस्य हुन् ।

कर्णालीमा प्रदेश प्रमुख बनाइएका परियार यसअघि प्रदेश २ का प्रदेश प्रमुख भइसकेका माओवादी केन्द्रनिकट मानिन्छन् ।

प्रदेश १ मा प्रमुख बनाइएका खापुङ एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य हुन्। सरकारले यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि परिवर्तन गरेको थियो ।

प्रकाशित मितिः   २३ कार्तिक २०७८, मंगलवार १७:४४