स्थायी शिक्षकको विज्ञापन मंसिरमा
काठमाडौं – शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने भएको छ । आगामी मंसिरमा विज्ञापन खोल्नेगरी आयोगले तयारी थालेको हो ।
अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ । सोहीअनुसार खुलातर्फको स्थायी शिक्षकको विज्ञापन गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए ।
यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेल र आयोगका पदाधिकारीबीच विज्ञापन खोल्ने विषयमा छलफल भएको थियो । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २३ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ ।
प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ। निमाविको दरबन्दीमध्ये विषयगत रुपमा नेपालीमा ४ सय ३६, अंग्रेजीमा ६ सय २२, सामाजिक ३ सय ५३, गणित ३ सय ७०, विज्ञान ४ सय ४०, संस्कृत व्याकरण २, शुक्ल यजुर्वेद १, संस्कृत भाषा ३, संस्कृत कर्मकाण्ड १, संस्कृत साहित्यमा २ जना दरबन्दी रिक्त छ।
यस्तै बढुवाबाट पदपूर्तिका लागि ३ हजार ३ सय ९० जना गरी कुल २० हजार ६ सय १३ शिक्षकको रिक्त दरबन्दी रहेको आयोगको तथ्यांक छ।
प्रकाशित मितिः २३ कार्तिक २०७८, मंगलवार १८:५७
साझा बिसौनी ।