गठबन्धनले बनायो समन्वय समिति

काठमाडौं – सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाएका छन् । सोमवार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सम्मिलित छन्। समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिले काम गर्ने बताइएको छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य छन्।

यस्तै, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव सदस्य छन् भने एक एक जनाको नाम पछि दिने बताएका छन् । राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको छ। त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् ।

समितिमा प्रधानमन्त्री देउवा भने छैनन्। तर, उनले हरेक बैठकमा आउने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७८, सोमबार २१:३३