छठलगत्तै १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसले बाँकी रहेका वडा अधिवेशन छठलगत्तै गर्ने भएको छ । सुर्खेतसहित १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन सकेको छैन ।

भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि सुर्खेत, डोल्पा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन गरिएको छैन ।  रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन ।

यही कार्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ।

यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ। त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् ।

प्रकाशित मितिः   २१ कार्तिक २०७८, आईतवार १४:१०