‘सख्या नाच’ संरक्षण गर्न म्युजिक भिडियो

सुर्खेत – थारु समुदायको लोकसंस्कृति सखिया(सख्या) नाच संरक्षणका लागि म्युजिक भिडियो छायांकन गरिएको छ । थारु कल्याणकारीणी सभा र लखागिन थारु उत्थान मञ्च सुर्खेतको सहकार्यमा म्युजिक भिडियो निर्माण गर्न लागिएको हो ।

गीत संकलन साहित्यकार मानबहादुर चौधरी ‘पन्ना’ले गरेका हुन् । म्युजिकि भिडियो संयोजन, सम्पादन तथा निर्देशन पनि उनकै रहेको छ । थारुहरुको मौलिक पहिचान बोकेको सख्या नाच लोप हुँदै गइरहेकोले यसको संरक्षण गर्नका लागि भिडियो निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

सख्या नाच थारु समुदायमा अष्टिम्की र अट्वारी पर्वपछि सुरुवात गर्ने चलन हुन्छ । यस गीतमा पृथ्वीको उत्पत्ति सृष्टिदेखि कृष्णको जन्म, बाल्यकाल, राधासँगको प्रेमलीला र कंशको बध गरिएको अध्याय रहेको छ ।

सख्या नाचमा गाइने गीतको १५ वटा अध्यायमध्ये ११ औ अध्याय अन्तर्गत राधा र उसका सहेलीहरु कान्हाले गाईवस्तु चराउने बृन्दावनमा दुध लिन गएको प्रसङ्गका गीतलाई मुल गीतका रुपमा छायांकन गरिएको छ । यसमा थारु संस्कृतिलाई जस्ताको त्यस्तै उतारिएको जनाइएको छ ।

सख्या नाचको म्युजिक भिडियो निर्माणका लागि समाजसेवी सनिसरा महतमले आर्थिक सहयोग गरेका हुन् । दसैँको समयमा अट्वारी पर्वपछि करिब दुई महिनासम्म नाचिने यो नाच पछिल्लो समय लोप हुन थालेकाले यसको संरक्षण आवश्यक रहेको महतमले बताए ।

गीतमा गायिकाहरुमा दुर्गा चौधरी, राधा चौधरी, गंगा चौधरी, मानकुमारी चौधरी, चेचु चौधरी, कमला चौधरी, कृष्णा चौधरी र रामकली चौधरीले स्वर दिएका छन् ।

बाद्यबादतर्फ मादलमा अग्घ्वा मन्दरिया कालुराम दहित, पछ्वा मन्दरियामा लोकबहादुर चौधरी र सहायक मन्दरियामा शेरबहादुर थारु, विनोद चौधरी, बुद्धिराम चौधरी र अविशेक चौधरी रहेका छन् भने नृत्य मोह्रिन्यामा सन्ध्या चौधरी, पश्गिन्यामा अनु चौधरी र जेडगुइह्यामा क्रमशः अञ्जली चौधरी र बेन्जु चौधरी रहेका छन् ।

मुल गुरुवामा औसिया थारु र सहायक गुरुवामा साउने थारु रहेका छन् । गीतका मूल स्रोत स्वः बेलौरी थरुनी हुन् ।

प्रकाशित मितिः   २१ कार्तिक २०७८, आईतवार १३:५४