कविता : सपना

उमालाल आचार्य

पढाइ-लेखाइ छोडेर
देशमा सार्थक परिवर्तन खोज्दै
घरबार सबै त्यागेर
जीवनबाट विकल्पमा मरण रोज्दै
रहरलाइ पर हुत्याएर
मुक्तिका लागि ज्यान हत्केलामा हाल्दै
सबथोक माया मारेर
डर, भय र त्रास मनबाट झिकेर फाल्दै
तातो गोलीले ढलेका
लडाका साथीहरूलाई दायाँबायाँ हेर्दै
आक्रोश र प्रतिशोधले उमाल्दा
दुश्मनलाई अझ अरु नजिकबाट घेर्दै
बम-गोला र बारुदसँग
कति भिडियो डटियो बेप्रवाह लडियो
राइफलसँग मित लगाउँदै
यो मुलुकमा गणतन्त्र ल्याइछोडियो ।

गणतन्त्रले जरा नटेक्दै
भित्र-बाहिर कता षड्यन्त्रको धुवाँ गनायो
नतिजामा कुकर्म देखियो
शासनले मुटुमा हान्यो अयोग्य पो बनायो
मेरो उर्वर जवानीको
तागत-वर्कत र जाँगर युद्धले चपाइ खायो
संकल्प र बलिदानमा
संशयको घनघोर कालो बादल छायो
मैले प्राण हालेको क्रान्तिले
अयोग्यको दर्जामा हाल्यो घायल बनायो
अयोग्य भन्ने शब्दवाँणले
थला पार्‍यो रुवायो धेरै, धेरै दिन सतायो
म हारेँ जिन्दगीसँग
उज्यालाबाट सकिँदै अन्धकारमा गएँ
गाउँ-टोल-छरछिमेकमा
कतै काम नलाग्ने खोटो सिक्का झैँ भएँ
कामको मेलोमेसो छैन
पापी एउटा पेट छ, साँझ-बिहान रोटी माग्छ
कहिले पानी पिएर सुत्छु
सपना देख्छु सपना देख्न कति जाति लाग्छ ।

आहा ! सपनामा म एउटा गोठालो थिएँ
हातमा लट्ठी समाइ गाई चराउन गएँ
दुबेचौरमा गाई चरे
आफू डाँडामा बसी मुरली बजाउने भएँ
फाँटको लहलह धानबालीमा
एउटा जब्बर राँगो पसेछ
धपाउन आएको धान धनीलाई
हानेर पल्टाउँदै आलिमा धसेछ
आत्तिएर रुँदै कराउँदै
उसले वरीपरी हार-गुहार मागेछ
हात-हातमा घोचा बोकी
गाउँलेहरुले घेरा हाल्दा राँगो उफ्री भागेछ ।

भाग्दाभाग्दै खोइ कसरी हो
एकाएक त्यो राँगो त मान्छे पो भएछ
कसैको जीवनसँग खेलाँची गरि
अयोग्यको छाप लगाउने त्यही दुष्ट रहेछ
जर्फराउँदै उठे छेकल काटेँ
छातीमा सास रोकि बसेँ बाटाको गौंडो कुरि
मेरो हातको सानो मुरली
कतिखेर कसरी भएछ त्यत्रो ठूलो खुकुरी
दुष्टलाई फन्दामा पारेँ
आफ्नो खुकुरी उचालेँ त्यसको धार मुसारेँ
हालत देख्यो कायल भयो
आवेशमा चिच्याएँ खुकुरी उसको कोखामा घुसारेँ ।

यत्तिकैमा झल्याँस्स ब्युँझिएँ
नजिकै लोटा थियो, पानी पिएँ
यताउता हेरेँ
राँगो मान्छे र खुकुरी सम्झी लामो सास फेरेँ
भोकले पटक्कै मानेन
धानेन पानीले भएन बटार्‍यो पेट बेसरी
कुनै उपाए केही छैन कतै
यो भोकलाई ठेगान लगाउनु कसरी
भोकसँग लड्न कति कठिन
असतिहरुले पेटमा लात हाने यसरी
मनको जपना यस्ता सपना
दैवले साकार पारिदिए हुन्थ्यो जसरी तसरी
निरस र अत्यास पो हुन्छ
कुन्नि किन त्यति जाती लाग्दैन विपना
बरु सरस र स्वादिष्ट लाग्छ
भोकसँग साटेको यस्तो छोटो सपना ।

प्रकाशित मितिः   २० कार्तिक २०७८, शनिबार ०१:२३