जुम्लामा सिर्जित ६ सय वर्ष पुरानो भैलो संस्कृति

वर्षौदेखि ‘भैलो’ नेपालीहरुको साझा संस्कृतिको रुपमा स्थापित छ । तिहारमा भैलोले थप रौनक थपेको छ । तर धेरैलाई थाहा नहुनसक्छ यसको सुरुवात जुम्लाबाट भएको हो । ६ सय वर्षभन्दा पुरानो भैलो संस्कृतिको उद्गम भूमि खसान क्षेत्र हो । खसानी भूमि अर्थात् जुम्ला ।

भैलो खेल्दा गाउने गरिन्छ, ‘हामी त्यसै आएनौँ, बलिराजाले पठाए ।’

यसमा उल्लेखित ‘बलिराजा’ तत्कालीन जुम्ला राज्यका राजा बलिराज हुन् । उनै बलिराजले भैलो खेल्ने प्रचलनको सुरुवात गरेका थिए ।

बलिराजले जुम्लामा किन भैलो प्रचलन चलाए यस सम्बन्धमा त्यति खोज अनुसन्धान हुन सकेको छैन । खस संस्कृतिबारे अध्ययन गरेका प्रा. बालकृष्ण पोखरेलले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार ‘खसानमा मुसलमान (तिमुर) सँग लड्नको लागि संकलन गरिएको नगद जिन्सी चन्दालाई भैलोमार्फत सङ्कलन गरेको आशंका छ ।  जो पछि निरन्तर रुपमा चल्दै गयो र विभिन्न रुपमा प्रचलनमा आइराख्यो ।’

जुम्लामा सर्वाधिकार राजा हुनुपूर्व बलिराज तिव्रीकोट र मुगुमा आफ्नो अधिकार जमाई बसेका थिए । यस्तै मलय बर्माको राज्य खण्डीकरण हुनुअघि मुसलमानहरुले खस राज्यसम्म आक्रमण गरेका थिए । मुसलमानी आक्रमणको संभावना टरेको थिएन । राज्यलाई मजबुत बनाउन छिमेकी राज्यसँग यिनको सम्बन्ध राम्रो थियो । विषम परिस्थितिमा राज्य युद्धमा होमिँदा अन्न कम हुने स्थानमा अन्नपात र रकम सङ्कलन गर्नको लागि भैलो प्रचलन चलाएको अनुमान गर्न सकिन्छ ।

प्रारम्भमा भैलो वर्तमानको जस्तो यमपञ्चकमा नभएर मार्ग शुक्ल पूर्णिमाको रातमा एक दिन र पौष शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म खेलिन्थ्यो । केही स्थानमा पुष महिनाभरि खेलिन्थ्यो । कुनै बेला खसान क्षेत्रभित्रै पर्ने हालको बैतडीका केही स्थानमा दशैँको टीकाको दिनदेखि यमपञ्चकको अन्तिम दिन भाइटीकाको रातिसम्म भैलो खेल्ने प्रचलन छ ।

बलिराज जुम्लाको राजा हुनुपूर्व उनको प्रभुत्व रहेको तिव्रीकोट (हाल डोल्पा) र जुम्लाको केही स्थानमा पौष शुक्ल द्वितीयाका दिन आमाले छोरालाई टीका लगाई दिने र सोही दिन भैलो खेल्ने गरिन्छ । यहाँका कतिपय स्थानमा मंसिर पूर्णिमालाई भैलो पूर्णिमा र खसानका केही स्थानमा बालो भैलो र बुढो भैलोको नामले पनि पुकारिन्छ । यस क्षेत्रमा देउसीको प्रचलन भने धेरैपछि भएको हो ।

प्रारम्भमा देउसी खेलिँदैनथ्यो । खसानको दक्षिण क्षेत्र जहाँ मगर जातिको बाहुल्यता थियो । त्यस क्षेत्रमा प्रचलनमा आएको भैलो र देउसीको संयुक्त गायनलाई लोक संस्कृतिको स्थानान्तरणबाट उताको यता यताको उता प्रचलनमा आएको अनुमान गरिन्छ । प्रारम्भमा जुन उद्देश्य र कारणबाट भैलोको प्रचलन चले पनि भैलोबाट सङ्कलित चामल र नगदको पाटाभात खाने चलन छ ।

जुम्लातिर पौष महिनाभित्रै पाटा भात खाइन्छ भने खसानका अन्य स्थानमा भैलीको भातका नामले मंसिर, पौषमा खाने प्रचलन छ । केही स्थानमा भैलीको भात खाँदा, भात पाक्दै गर्दा उक्त स्थानमा भैली खेल्ने गरिन्छ ।

बेग्लै उद्देश्यले प्रचलित भैलो मंसिर-पुसमा नखेलेर अब भने तिहारका पाँच दिन खेल्ने प्रचलन छ । हिन्दूहरुले मनाउने तिहारमा नेपालबाहेक अन्य देशका हिन्दूहरुले भैलो खेल्ने प्रचलन नभएको हुँदा यो विशुद्ध खसानी संस्कृति हो । यसको उत्पत्तिस्थल जुम्ला राज्य नै हो ।

इतिहासको एउटा काल खण्डमा आफ्नो भूमि रक्षा र राज्यको साख बढाउन तथा बचाउन प्रचलनमा ल्याइएको भैलो आज अर्कै रुप र परिवेशमा रुपान्तरित भएर सांस्कृतिक पर्वको रुपमा चलिरहेको छ ।

प्रकाशित मितिः   २० कार्तिक २०७८, शनिबार १४:३८