कमरेड ‘विशाल’को विरासत
२०५६ साल हो जस्तो लाग्छ, महिना, गते र बार अहिले ठ्याक्कै याद भएन । म उमेरले त्यस्तै ११ वर्षको हुँदो हुँ ।
दिनले आफ्नो चम्किलो आकारलाई खुम्च्याउँदै मलिनता पोख्दै थियो । रातले आफ्ना अँधेरी पखेटा फिँजाइरहेको बेला गाउँमा भूमिगत पार्टी माओवादीको कार्यक्रममा सहभागि हुनका लागि निम्तो आएको थियो ।
रातको त्यस्तै ८/९ बजेको हुँदो हो, यो अनुमानित समय थियो ।
हिउँदको समय । टहटह जुनेली रात अनि कठ्याङ्ग्रीदो चिसामो माओवादी छापामारको सुरक्षा घेराभित्र हामी गाउँका जनता ।
कोही डरले गएका थिए, कोही करले । कोही भने म जस्तै रहरले पनि गएका हुँदा हुन् ।
त्यतिबेला मलाई माओवादी छापामारहरुको अनुहार हेर्ने ठूलो रहर थियो । त्यही रहर पछ्याउँदै पुगेको थिएँ म ।
रात आफ्नो गतिमा दौँडिदै थियो, कार्यक्रममा बोल्ने क्रम सुरु भयो । सबैभन्दा ठुलो नेता थिए, त्यो बेलाका कमरेड विशाल (अर्थात्, कर्णालीका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही) । त्यो बेलादेखि नै माओवादी छापामारको पंक्तिमा यो नाम चर्चित थियो ।
पहिलो पटक देखेको माओवादी छापामार कमाण्डर कमरेड विशाल उर्फ महेन्द्रबहादुर शाहीले त्यो राति गरेको भाषण, जनयुद्ध लड्नुकोबारेमा प्रष्ट्याएको उद्देश्य सुनेपछि माओवादीले सुरु गरेको जनयुद्ध हाम्रो लागि हो र हाम्रो पुस्ताको लागि हो जस्तो गरी मेरो बाल मस्तिष्कमा गहिरो छाप बसेको थियो । त्यही भाषणको प्रभावले म पनि ११ बर्षको उमेरमा माओवादी युद्धमा होमिएँ । केही बुझेर, केही रहरले र बाँकी कमरेड विशालको प्रभावले परिवर्तनको यो आन्दोलनमा सहभागी हुने मौका पाएँ ।
कालीकोट र सेती–महाकालीको सफल फौजी आक्रमणको अगाडी विशाल नामको लोकप्रियताको कारण तत्कालीन शाही नेपाली सेनाले आफ्नो पहिलो ‘रेडलिष्ट’मा राखेर विशाल उपनामको जनमुक्ति सेना कमाण्डरको खोजी गर्न थाल्यो ।
प्रतिक्रियावादी सत्ता जब विशालको खोजीमा जुट्यो, कमाण्डर विशाल भने ‘प्रज्वल’मा बदलिएर झन सशक्त बने ।
नेकपा माओवादीको चर्चित चुनुवाङ बैठकले लिएको निर्णयलाई कार्यन्वयन गर्न, चीनमा माओले चलाएको ‘लङ मार्च’ अभियानको झक्लो दिने गरी थालिएको ‘ढाडमा टेकेर टाउको हान्ने’ अभियानको अवधिभर मैले कमरेड प्रज्वलसँग नजिक रहेर काम गर्ने अवसर पाएँ । त्यो बेलादेखिको हाम्रो भावनात्मक सम्बन्ध, आत्मियता अनि कमाण्डरले गरेको मप्रतिको अभिवाकत्वले मलाई आन्दोलनको बेला कहिल्यै पनि निराश बनाएन, झन् उर्जा थपेको ताजा अनुभव मसँग छन् ।
पाल्पाको तानसेन, कपिलबस्तुको तौलिहवा, रुपन्देहीको बुटवल, पाल्पा र अर्घाखाचीको सिमाना तिनगिरे, पाल्पाको धरामपानीलगायतका सफल फौजी मोर्चाहरुमा दिएको साहसिक निर्देशन अनि प्रेरणाले नै आज यो स्थान बनाएको छ ।
हामी बन्यौँ र हामीले हाम्रो पुस्तालाई बनायौँ, नेपालमा राजतन्त्र ढालेर गणतन्त्र ल्यायौँ, यो कसरी भयो भनेर यदि अर्को पुस्ताले सोध्यो भने धेरै पर जानु पर्दैन, खुला कितव महेन्द्रबहादुर शाही अर्थात कमरेड प्रज्वललाई पढे पुग्छ ।
कमरेड विशाल समयक्रमसँगै कमान्डर प्रज्वल हुँदै कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने । यसबीच मलाई पुनः उनको निजी सचिवालयमा रहेर काम गर्ने अवसर मिल्यो । अझ भनौं उनलाई थप बुझ्ने मौका मिल्यो ।
लाग्थ्यो सत्तामा पुगेका माओवादी नेताहरु आफ्ना सपनाहरुप्रति बेइमान भइसके होलान् । अहँ यो ६ महिनाको यात्रामा मैले महेन्द्रबहादुर शाहीमा त्यो भेटिनँ, जनयुद्धको आधारभूमि रुकुम पश्चिम होस् वा कालीकोटको माल्कोट होस् या त जुम्ला, हुम्ला र मुगुका ती जनयुद्धकालीन बस्तीमा पुग्दा जे हिजो जनयुद्धताका बाँडेका सपनाहरु थिए, ती सपनाहरु पूरा गर्ने यात्रामा अहिले पनि कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिबद्ध देखेँ ।
त्यही भएर हो जनयुद्धका घाइते र सहिद परिवारहरुको लागि जीवन निर्वाह भत्ताको व्यवस्था सत्ताबाट मिलाएको । ‘बैँक खाता छोरीको, सुरक्षा जीवनभरीको’ जस्तो लोकप्रिय कार्यक्रम ल्याएको । गाडीको नाम सुनेका तर नदेखेका बस्तीमा रोड पुर्याएर गाडी गुडाएको । क्षमता हुँदा पनि अगाडी बढ्न नसकेका पत्रकारहरुको लागि छात्रवृत्ति कार्यक्रम लागू गरेको ।
जनयुद्धको बेला निर्माण गरेका आधार इलाकाहरुमा हिँडेका पैतलाका डोबहरु अझै मेटिएका छैनन्, ती पदचापहरु पछ्याउन हिँड्दै गर्दा महेन्द्रबहादुर शाही अर्थात प्रज्वल आफै भन्छन् ‘सत्ता केही क्षणको लागि मात्र हो, हाम्रो त त्यो बेलाका सपनाहरु हुन् । ती सपनाहरु पूरा गर्न अहिले पनि लागिरहेको छु । बस् तरिका मात्र बदलिएको हो । जनताको बिचमा खाएका कसम, गरेका प्रतिबद्धता त अहिले पनि ताजै छन् ।’
प्रकाशित मितिः १९ कार्तिक २०७८, शुक्रबार १४:४१
विवशकुमार सेजुवाल ।