एन्फा जिल्ला लिगः वीरेन्द्रनगर स्पोर्टस् फाइनलमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन । 
साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय) वीरेन्द्रनगरमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधवार भएको सेमिफाइनलमा सिद्धपाइला युवा क्लबलाई ३–२ ले पराजित गर्दै वीरेन्द्रनगर फाइनल प्रवेश गरेको हो ।
खेल सुरु भएको तीन मिनेटमै विनोद रानाले एक गोल गरी सिद्धपाइला युवा क्लबलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक भएको खेलमा ३९ औं मिनेटमा गोल गरी वीरेनद्रनगरका विजय सुनारले खेललाई १–१ को बराबरीमा पु¥याए । त्यसको १० मिनेट बित्न नपाउँदै वीरेन्द्रनगरले थप दुई गोल गर्न सफल भयो । उसका लागि ४३ औं मिनेटमा शिव खड्का र ४८ औं मिनेटमा पवन शाहीले एक÷एक गोल गरी टिमलाई ३–१ को अग्रता दिलाए । 
पहिलो हाफमा ३–१ ले पछि परेको सिद्धपाइलाका लागि ६० औं मिनेटमा थप एक गोल गर्दै दिपेन्द्र थापाले गोल अन्तर घटाए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । सिद्धपाइलाले गोल गर्नसक्ने तीन वटा उत्कृष्ट अवसर गुमाएको थियो । वीरेन्द्रनगर स्पोर्टस् क्लब लिगमा समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने सिद्धपाइला समूह ‘क’ को उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । 
प्रतियोगिता अन्तर्गत आज (बिहीवार) साथी खोर्के युवा क्लब र बावियाचौर युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । साथी खोर्के समूह ‘क’ को विजेता हो भने बावियाचौर समूह ‘ख’ को उपविजेता टिम हो । खेल दिउँसो साढे ३ बजे वीरेन्द्रनगर रंगशालामा हुने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सेमिफाइनलदेखि खेल हेर्नका लागि २० रूपैयाँ शुल्क निर्धारण गरिएको छ । 
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:१५