‘युवाहरू अब प्रयोग मात्र हुनुहुँदैन’

गोविन्दराज योगी
]केन्द्रीय सदस्य, नेपाल क्रान्तिकारी युवा संघ
नेपाल मजदुर सान पार्टी निकट नेपाल क्रान्तिकारी गोविन्दराज योगीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, योगीसँगको कुराकानी ः

युवा संघको छैठौं राष्ट्रिय सम्मेलन आउँदो चैत ५ देखि ७ गतेसम्म सुर्खेतमा हुँदैछ । यसै सन्दर्भमा रहेर सम्मनेलनको तयारी, युवाहरूको समस्या, युवाहरूको भूमिका लगायत विविध विषयमा हामीले संघका केन्द्रीय सदस्य

सम्मेलनको तयारी के कस्तो भइरहेको छ ?
तयारी करिब अन्तिम चरणमा पुगेको छ । यो राष्टिय सम्मेलन भएकाले पनि यसलाई सभ्य र भव्य बनाउनका लागि हामी जुटिरहेका छौं । विभिन्न उपसमितिहरू गठन गरेर काम भइरहेको छ । 
सम्मेलन मुख्य गरी कुन विषयमा केन्द्रित हुनेछ ?
सम्मेलनले मुख्य त संघको नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका साथै हामी संघको विगतदेखि वर्तमानसम्मको समीक्षा गर्नेछौं र भावी कार्यदिशा निर्माण गर्नेछौं । संगठनलाई थप बलियो, मजबुत बनाउनुका साथै यसलाई सुदृढ र विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ । त्यतिमात्र नभएर समग्र युवाहरूको समस्या समाधानका लागि गर्नुपर्ने कामका बारेमा पनि हामी सम्मेलनमा विशेष बहस गर्नेछौं । 
यो सम्मेलनबाट हुने उपलब्धी के–के हुन् सक्लान् ?
प्रत्यक्ष र अप्रत्यक्ष उपलब्धीहरू त हुन्छन् नै । राष्ट्रिय सम्मेलन सुर्खेतमा हुनु नै हाम्रा लागि महŒवपूर्ण उपलब्धी हो भने समग्र युवाहरूका लागि पनि सम्मेलन उपलब्धिमूलक हुनेछ । युवाहरूको नेतृत्व विकास, क्षमता विकासदेखि नेपाली युवाहरूले अहिले भोगिरहेका समस्या समाधानका लागि कार्ययोजना बनाएर हामी त्यसको कार्यान्वयनमा लैजानेछौं, त्यसकारण पनि यो सम्मेलन उपलब्धिमूलक हुन्छ ।
नेपाली युवाहरूका मुख्य समस्याहरू के–के हुन् ?
प्रमुख समस्या त स्वदेशमा रोजगारीको अवसर नहुनु नै हो । आफ्नै मुलुकमा रोजगारीका अवसर नहुँदा लाखौं युवाहरू विदेशिन बाध्य छन् । उनीहरू खाडीमा गएर परिश्रम गरिरहेका छन् । जसले गर्दा मुलुकको क्षमतावान र उत्पादनशील जनशक्ति बाहिर नै छ । यसलाई रोक्न जरुरी छ । युवा जनशक्ति नै स्वदेशमा नहुँदा मुलुकको समग्र विकासले गति लिन सकिरहेको छैन । बेरोजगारीकै कारण चेलीहरू बेचिनु परिरहेको छ । 
अर्कोतर्फ राज्यले निःशुल्क तथा व्यवहारिक र वैज्ञानिक शिक्षाको व्यवस्था गर्न नसक्नु पनि युवाहरूले भोगिरहेको अर्को जटिल समस्या हो । अधिकांश नेपालीहरू श्रम र मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । उनीहरूका छोराछोरीलाई राज्यले निःशुल्क शिक्षा दिन सकेको छैन । उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो । 
दलहरूले युवाहरूलाई केवल प्रयोग मात्रै गरे भन्ने आरोप लाग्ने गरेको छ, तपाईंहरू प्रयोग नै भएको हो त ?
पक्कै पनि अहिलेको अवस्थामा विशेषगरी प्रमुख दलहरूले युवाहरूलाई प्रयोग र उपयोग मात्रै गरेको पनि देखिन्छ । तर मुलुकका हरेक राजनीतिक परिवर्तनहरूमा युवाहरूको भूमिका महŒवपूर्ण रहँदै आएको छ । यद्यपि अवसर लिने कुरामा भने युवाहरू पछि पर्ने गरेका छन् । युवाहरूलाई प्रशिक्षण दिने, अनुशासित र सक्षम बनाउनेतर्फ दलहरूले ध्यान दिएका छैनन् । आफूलाई चाहिएको बेला मात्र प्रयोग गर्ने गरेको यथार्थ हो । देशप्रति उत्तरदायी बनाउने काममा ठूला दलहरूले ध्यान दिएका छैनन् र त्यसमा नै उनीहरूको हित छ । किन भने देशभक्त युवाहरू जन्मिए भने आफ्ना हक र अधिकारका बारेमा जानेका र बुझेका युवाहरूको उत्पादन भयो भने आफ्नो राजनीति टिक्दैन भन्ने सोचले नै युवाहरूको क्षमता विकासमा भन्दा आवश्यक पर्दा प्रयोग गर्न मात्रै दलहरू केन्द्रित भएको देखिन्छ । यो गलत संस्कार हो, यसलाई बदल्न जरुरी छ ।
युवाहरूलाई प्रयोगको साधन मात्र बन्नबाट रोक्न के गर्नुपर्ला ?
यसका लागि त सबैभन्दा पहिला युवाहरूलाई निःशुल्क, अनिवार्य व्यवहारिक तथा वैज्ञानिक शिक्षाको व्यवस्था गर्नुपर्दछ । युवाहरू आफै शिक्षित र सचेत भए भने अरुमार्फत् शासित नभएर होइन आफै आफ्नो अधिकारका लागि आवाज उठाउन सक्षम हुन्छन् । 
पछिल्लो समय राजनीतिप्रति युवा वितृष्णा छ, उनीहरूलाई कसरी आकर्षित गर्न सकिएला ?
हो, सुरुवातमा राजनीतिमा आकर्षित हुने युवाहरूको संख्या बढिरहेको छ भने केही वर्ष राजनीति गरेका युवाहरू वितृष्णा समेत छन् । पूँजीवादी राजनीतिक संस्कारको कारण नै यसो हुन गएको हो । राजनीतिक दलहरूले युवाहरूको भावना बुझ्न सकिरहेका छैनन् । तमाम समस्याहरू समाधानतर्फ उनीहरूको ध्यान पुग्न सकेको छैन । युवाहरूमा देशका लागि केही गर्न जोश र जाँगर छ तर नेतृत्वमा रहेकाहरूले त्यसलाई बुझ्न र उपयोग गर्न सकिरहेका छैनन् । देशको अवस्था सुधार हुँदै जानुपर्नेमा बिग्रदै गएको छ । जसले गर्दा राजनीति गरेर केही हुँदैन भन्ने परेको छ र युवाहरू विदेशिन थालेका छन् । गलत राजनीतिक संस्कार नै युवाहरूलाई वितृष्णामा पार्ने प्रमुख कारण हो ।
युवाहरू अन्य उत्पादनमूलक कार्यमा लाग्नुपर्ने हो कि राजनीतिमै केन्द्रित हुन जरुरी छ ?
फोहोर पानीले नुहाएर सफा हुन सकिदैन । त्यसैले जब मुलुकको मूल राजनीति नै गलत संस्कारबाट चलिरहेको छ । देशको स्वाभिमान र स्वाधिनता संकटमा परिरहेको छ भने हामी मात्रै रहनुको कुनै औचित्य हुँदैन । त्यसकारण युवाहरू उत्पादनमूलक कार्यमा लाग्नु त पर्छ नै तर राजनीतिलाई सही बाटोमा हिडाउनका लागि र मुलुकलाई विधि र नीतिबाट सञ्चालन गर्नका लागि पनि युवाहरू राजनीतिमा लाग्न जरुरी छ । 
तपाईंको विचारमा एउटा युवा राजनीतिमा किन लाग्ने ?
जब देशै रहेन भने हामी पनि रहँदैनौं । देशको विकास तथा स्वाभिमानको रक्षाका लागि पनि युवाहरू राजनीतिमा आउनुपर्छ । हामी युवाहरू नै चुप लागेर बस्यौ भने न त देशको विकास हुन्छ न त हाम्रो राष्ट्रियता रहन्छ । त्यसकारण मुलुकलाई बचाउन र सँगसँगै सही बाटोमा हिडाउनका लागि नयाँ सोच, नयाँ विचार र नयाँ योजनाका साथ युवाहरूले राजनीति गर्न जरुरी छ । 
युवाहरूलाई सक्षम र अधिकार सम्पन्न बनाउन के गर्नुपर्ला ?
मूल राजनीतिमा युवाहरूको सहभागिता उल्लेख्य छैन । धेरै युवाहरू विदेशमा छन् । उनीहरूलाई स्वदेशमै बस्ने वातावरणको सिर्जना पहिलो आवश्यकता हो । त्यसपछि गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रदान गर्न सकियो भने युवाहरू आफै सक्षम र सचेत हुनेछन् । साथसाथै प्रशिक्षण दिन पनि जरुरी छ । नयाँ संविधान त बन्यो तर निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको सुनिश्चितता गर्न सकने । 
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
मुलुकलाई विधि, सिद्धान्त र नीतिबाट सञ्चालन गर्न जरुरी छ । तर वर्तमान राजनीतिक नेतृत्वले गर्न सकिरहेको छैन । त्यसैले अब युवाहरू आफै सचेत भएर मुलुकको हितका लागि जुर्मुराउन जरुरी छ । मुख्य गरी यही एजेण्डाका साथै हाम्रो छैठौं राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । सम्मेलनलाई सफल पार्नका लागि म सम्पूर्णमा अनुरोध गर्दछु ।
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:१२