संगठनमा थापा

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन । 
एकीकृत नेकपा (माओवादी) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुर्खेतको अध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन् । बुधवार वीरेन्द्रनगरमा सम्पन्न सङ्गठनको पाँचौं जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 
संगठनको वरिष्ठ उपाध्यक्षमा डम्मरबहादुर सारु, उपाध्यक्षमा राम केसी, महिला उपाध्यक्षमा रत्ना रेग्मी, सचिवमा श्यामबहादुर वली, सहसचिवमा पूर्णप्रसाद पौडेल र कोषाध्यक्षमा कमल शाही चयन भएका छन् । यस्तै सचिवायल सदस्यहरूमा राजीवकुमार वली, प्रेमबहादुर विश्वकर्मा, हिमराज धमला, शेरबहादुर जिसी र रत्न कँडेल चयन भएका छन् । सम्मेलनले २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको र प्रथम बैठकबाट थप १० सदस्य समावेशी, समानुपातिक आधारमा मनोनित गरेको हो ।
सङ्गठनका अध्यक्ष नन्दराम गुरुङ्गको सभापतित्व र केन्द्रीय महासचिव शंकर अधिकारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा सचिव श्यामबहादुर वलीले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन छलफल गरी पारित गरिएको थियो । यस्तै सम्मेलनमा शिक्षक सहिदहरू वीरेन्द्र थापा र प्रकाश जिसीका जीवन संगिनीहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव अधिकारीले शिक्षा मन्त्रालयका गतिविधिहरू र शैक्षिक विकासका लागि शिक्षा मन्त्रीले सार्वजनिक गरेका १८ बुँदे अवधारणा पत्रका बारेमा प्रष्ट पारेका थिए । यस्तै एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले शिक्षकहरू समाजका अगुवा भएकोले समाज परिवर्तनमा अहम भूमिका भएको साथै सङ्गठन विस्तारको अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । सम्मेलनलाई सङ्गठनका केन्द्रीय सचिव कृष्णदत्त जोशी, जिल्ला सङ्गठनका फ्याक्सन ईन्चार्ज जीतबहादुर राना, एमाओवादी सुर्खेतका सचिव ठम्मर विष्ट, सङ्गठनका केन्द्रीय सचिवालय सदस्य रेश्मीलाल चपाई, केन्द्रीय सल्लाहाकार टोपबहादुर बस्नेत लगायतले शुभकामना दिएका थिए ।
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:१९