सचेत भएर चाड मनाउन प्रशासनको आग्रह

स्वास्थ्य सतर्कता अपनाएर २५ जनाभन्दा कमको समूहमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहार पर्वलाई व्यवस्थित गर्न सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रहेको भन्दै सचेत भएर चाड मनाउन आग्रह गरेको छ । जिल्लावासीलाई सूचित गर्दै स्वास्थ्य मापदण्डको पालना गरेर दीपावली पर्व मनाउन अनुरोध गरिएको हो ।

प्रशासनले जारी गरेको सूचनाअनुसार तिहारमा २५ जनासम्मको समूह बनाएर मात्र देउसी–भैलो जस्ता साँस्कृतिक गतिविधि गर्न भनिएको छ । त्यस्तै, स्वास्थ्य मापदण्ड अपनाएर राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने छ । शान्ति सुरक्षालाई समेत मध्यनजर गरेर यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

चाडपर्व हर्षोल्लासका साथ मनाउने क्रममा हुनसक्ने अप्रिय घटना न्यूनीकरणका लागि सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ । प्रशासनले कानुन विपरीतका अवाञ्छनीय गतिविधि नगर्न सार्वजनिक सूचनामार्फत सचेत गराएको छ । प्रशासनले दीपावलीमा पटका र आतिसवाजीजस्ता प्रज्वलनशील वस्तुको ओसार–पसार, बिक्री–वितरण तथा प्रयोगमा रोक लगाएको छ । तिहारको अवधिमा प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरे कानुनी कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७८, बुधबार ०५:०१