काँक्रेविहार परिसरमा बागीनाको भैलो

बागीना साधना समूहले काँक्रेविहार परिषरमा देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बागीनाले यही कार्तिक १८ गते लक्ष्मीपूजाका दिन ऐतिहासिक स्थलमा उक्त कार्यक्रम गर्न लागेको हो । बागीना समूह सुर्खेतका सचिव भानुभक्त अधिकारीले लक्ष्मीपूजाका दिन दिउँसो १२ बजे काँक्रेविहारको आँगनमा सार्वजनिक देउसी–भैलो आयोजना गरिने जनाए । उनका अनुसार कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सो कार्यक्रम हुन लागेको छ ।

काँक्रेविहार संरक्षित क्षेत्र मात्र नभएर पर्यटन र धार्मिक हिसाबले ऐतिहासिक स्थल हो,’ अधिकारीले भने, ‘देउसी–भैलो खेलेर बागीनाले त्यो ठाउँको प्रचार–प्रसार गर्ने छ ।’ कर्णाली आफैमा पर्यटकीय, बहु–संस्कृति, बहुजाति र बहुभाषिकहरूको उद्यगम स्थल भएकाले यहाँका पर्यटकीय स्थान सबै माझ चिनाउन आवश्यक रहेको उनले बताए ।

बागीनाले नमुना देउसी–भैलो कार्यक्रम गर्ने जनाएको छ । चाडपर्वमा बढ्दै गएको विकृति न्यूनीकरणमा यसले मदत पुग्ने समूहको अपेक्षा छ । हुनसक्ने भिडभाडलाई लक्षित गरी काँक्रेविहार क्षेत्रका संरचनामा क्षति नपुगोस् भनेर गेटभन्दा बाहिरै कार्यक्रम राखिने भएको छ । उक्त कार्यक्रम घर–घरबाट सामाजिक सञ्जालमार्फत हेर्न सकिने व्यवस्था मिलाइने आयोजकले जनाएका छन् । कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, भिमबहादुर कार्की, गंगा केसीलगायतका साङ्गितिक क्षेत्रका अग्रणी व्यक्ति र सञ्चारकर्मीहरूको सहभागीता रहने छ । बागीना समूहमा नयाँ कार्यसमिति आएसँगै पहिलो कार्यक्रमको रूपमा सार्वजनिक देउसी–भैलोको आयोजना गरिएको हो ।

प्रकाशित मितिः   १७ कार्तिक २०७८, बुधबार ०५:००