खर्चिला बन्दै चाड

सुरू भयो तिहारको रौनक

यस वर्षको तिहार पर्व सुरू भएको छ । यसबेला मानिसहरूको आवातजावतसँगै आर्थिक गतिविधि पनि बढ्छन् । बजारमा लाग्ने उपभोक्ताको घुइँचोले चाड आएको जनाउसँगै रौनक पनि थपिन्छ । दसैँपछिको ठूलो चाड भित्रिएसँगै गाउँदेखि सहरसम्म चहलपहल बढेको छ । तिहारका लागि आवश्यक सामान किनमेल गर्नेहरूको भिड देखिन थालेको हो । कार्तिक २० गते भाइटीका परेको छ ।

तिहारमा माला, बत्ती, दियो, पाला, टीका, भाइ मसला र ढाका टोपीको बिक्री बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । यो बेला घरायसी तथा भान्साका सामानहरूको बिक्री समेत धेरै हुन्छ । व्यवसायीहरूका अनुसार तिहारको लागि चाहिने त्यस्ता अधिकांश सामानहरू भारतबाट ल्याइने गरिएको छ । जसले गर्दा बर्सेनि चाडपर्व महँगो हुँदै गएका छन् । कपडा, खाद्यान्नलगायतका वस्तुको मागसमेत अत्यधिक हुँदा चाडपर्वहरूमा मूल्य वृद्धि हुने गरेको छ । तिहार नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । तिहारको समयमा विभिन्न किसिमका परिकार बनाउन अत्यधिक प्रयोग हुने सामग्रीहरूको भाउ बढ्ने गरेको हो ।

बढ्दो आधुनिकतासँगै तिहार मनाउने शैली पनि फेरिएको छ । हरेक वर्ष तिहार महँगो पर्व बन्दै गएको छ । घर–घरमा बजारीया बत्तीहरूले झिलीमिली बनाउने चलन छ । पालामा दीप बाल्ने चलन कम हुँदै छ । भाइटीकाको दिन लगाइने मालाहरू पनि रेडिमेट बढी प्रयोग हुने गरेका छन् । गाउँघरमै पाइने मखमली, सयपत्रीजस्ता फूलको प्रयोग घट्दो छ । अहिले वीरेन्द्रनगरलगायतका बजार क्षेत्रमा फूलमाला, टीका र विभिन्न परिकारहरू बेच्न राखिएका छन् । त्यसले पनि तिहारको रौनकता थपिएको छ ।

यसपाली कृत्रिम फूलबाट बनेका माला किन्नेहरूको चाप धेरै रहेको वीरेन्द्रनगर–६ कि व्यवसायी बेञ्जुु थापाले बताइन् । ‘पोहोरको तुुलनामा यो पटक रेडिमेट माला किन्नेहरू धेरै आउनु भएको छ,’ उनले भनिन् । थापाले तिहारमा आवश्यक सबैजसो सामानको मूल्य बढेको समेत जनाइन् । उनका अनुसार वीरेन्द्रनगर बजारमा कृत्रिम सयपत्री एउटा मालाको मूल्य एक सयदेखि तीन सयसम्म पर्छ । सामान बाहिरबाट आउने हुँदा उतैबाट मूल्य बढाएर पठाउने गरिएको उनको भनाइ छ ।

यसपटक भाइ मसलाको मूल्य पनि बढेको छ । उक्त मसला प्याकेटको २० रूपैयाँदेखि सात सयसम्म पर्छ । यो मूल्य पोहोरको भन्दा दोब्बर हो । त्यस्तै, ओखरको भाउ अहिले निकै बढेको छ । जुुम्लाको ओखर प्रति केजी एक हजार, चाइनाको ६ सय ५० र भारतबाट आएको ओखर केजीको सात सय रूपैयाँमा बिक्री भइरहेको हो । फूल र मसलामा समेत परनिर्भर हुँदा तिहार खर्चिलो हुँदै गएको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मितिः   १७ कार्तिक २०७८, बुधबार ०५:०३