प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

विराटनगरः प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले अबको केही बेरमा मुख्यमन्त्रीको सपथ लिने छन् । यसअघिका मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेको थिए ।

आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजीनामा बुझाएपछि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलवार १ बजेसम्मका लागि समय दिइएको थियो । सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए । राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार १४:१६