रोनाल्डोले जिते बालोन डि’ओर

रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा रहे भने एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे ।

फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि ३० फुटबलर मनोनयनमा परेका थिए ।

तर, विश्वभरका १७२ फुटबल पत्रकारको मतका आधारमा रोनाल्डोले बाजी मारे । łमैले चौथो पटक यो सुनौलो बल जित्छु भनेर सोचेको थिइँन, म निकै खुसी छु, रोनाल्डोले भनेका छन् ।

३१ वर्षे रोनाल्डोको यो चौथो बालोन डि’ओर हो । उनले सन् २००८, ०१३, ०१४ र यो वर्ष जिते । मेस्सीले भने गत वर्ष पाँचौपटक जितेका थिए, जसमा ०९ देखि लगातार चार वर्ष पनि छ ।

गत वर्ष रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डोेले पोर्चुगललाई युरो कप जिताए । यससँगै बालोन डि’ओरका लागि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।

फ्रान्स फुटबलले १९५६ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । तर पछिल्लो ६ वर्ष यो अवार्ड फिफासँग मिलेर प्रदान गर्दै आएको थियो । तर, यो वर्षबाट अलगिएका छन् ।

प्रकाशित मितिः   २८ मंसिर २०७३, मंगलवार १४:३७