अध्ययन, अध्यापन र अभिभावक

krishna

शिक्षालाई सामान्य अर्थमा आदर्श एवम् कर्मशील मानव जीवन तयार गर्ने सर्वोत्तम साधनका रूपमा मानिन्छ । मानव सभ्यताको प्रारम्भदेखि नै यसका मानवीय जीवनको सार्थकता सभ्य समाजको गतिशील शिक्षामा नै निर्भर हुँदै आएको हो । प्रत्येक बालबालिकालाई पशुत्वको प्रवृत्तिबाट मनुषत्वको आचरण निर्माण गर्ने मुख्य साधन शिक्षा नै हो । यसमा विभिन्न विद्वान, कवि, दर्शनशास्त्री, वैज्ञानिकहरूको आ–आफ्नै परिभाषा हुनु स्वभाविकै हो । जस्तै डा. मारिया मन्टेश्वरी, प्लेटो, जानडिवे, रुसी, फ्रवेल, अरस्तु, मोहनदाश करमचन्द गान्धी (माहात्मा गान्धी) तथा नेपालको परिवेशमा भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा महामानव विश्वेश्वरप्रसाद कोइलारा आदि आदि ।

माथि उल्लेखित शीर्षकमा तिनै शब्दको सुरु ‘अ’ को अक्षरदेखि प्रारम्भ गरिएको छ । शिक्षा प्राप्तिका क्रममा तिनै पक्षको के कस्तो भूमिका खेल्न वेश होला भनेर शिक्षामा केही कुरा राख्नु पंक्तिकारलाई प्रेरणा मिल्यो । वीरेन्द्रनगर–६, स्थिल नेरामाविको शनिवार १८ माघ २०७३ मा भएको ४५ औं वार्षिकोत्सवको अवसरमा अतिथिको रूपमा यो पंक्तिकारलाई आफ्नो विचार राख्ने अवसर विद्यालयले प्रदान ग¥यो । त्यहाँ पनि मैले आफ्ना केही कुरा र अनुभव राखेको थिएँ । मलाई उक्त अवसर प्रदान गर्नु भएकोमा विद्यालयका निमित्त प्रधानाध्यापक मोहन गौतम लगायत विद्यालय परिवार सबैमा धन्यवाद टक्र्याउँनु मेरो परम कर्तव्य ठान्दछु । र, मेरा थप कुराहरू यो लेखमा राख्ने प्रयास गरेको छु ।

अभिभावकः विद्यार्थीका माता पिता तथा अभिभावकत्व निर्वाह गर्ने जो कसैले पनि आफ्ना सन्तती असक्षम हुन् भनेर कल्पनासम्म गर्न सक्दैनन् । त्यतिमात्र होइन साझा बगैंचाको फूलबारी सरस्वतीको मन्दिरबाट उत्कृष्ट बनुन् भन्ने प्रार्थना गर्छन् नै । सबै अभिभावकको एकै किसिमको आर्थिक अवस्था हुँदैन तथापि विद्यार्थीको कक्षा अनुसार जेनतेन सबै साधन अपुरो नहोस् भनि पूरा गरेकै देखिन्छ ।

हामी अभिभावक पक्ष कहींकतै चुक्न भएका त छैनौं ? आफैले आफैलाई एकान्तमा प्रश्न गरौं हैत उ विद्यालयमा आफ्नो लगायत छिमेकीका नानीबाबु (विद्यार्थीहरू) पुगे–पुगेनन् ? झोलामा मौजुदा कुनै पनि किताब कापी लगायतका सबै सामान ठीक दुरुस्त छन् छैनन् ? गृहकार्य गरे गरेन् ? पटक–पटक शिक्षकहरूसँग भेटघाट गरी आफ्नो बच्चाको पढाइका बारे परामर्श ग¥यौं कि गरेनौं ? बरु हामीले घरमा सर्वप्रथम शान्ति कायम गरौं । मिले नमिले भोजन, नास्ता, अत्यन्त प्रेरणादायी व्यवहार, हँसिलो, मिठो शब्दका साथ हँसिलोपनको खान दिऔं । उमेर अनुसार अध्ययनका प्रेरणा हौसला दिनु हाम्रो कर्तव्य हो । नैरास्यपन पटक्कै नराखौं ।

अध्यापन पक्ष गुरु (शिक्षवर्ग) : गुरु देवो भवः गुरुलाई ईश्वर (भगवान्) नै सम्झनु हाम्रो परम कर्तव्य हिजो थियो । आज छ । भोलि पनि निश्चित हुन्छ, हुन्छ । किनकी गुरु विना कसैले पनि शिक्षा प्राप्त गर्न सकेका थिएनन्, भविष्यमा पनि सम्भव नै छैन । पंक्तिकार दैलेख जिल्लाको (हालको इलाका ४ कुमृगाउँ) निवासी र सो क्षेत्रबाट सबैभन्दा पहिलो एसएलसी पास गर्ने व्यक्ति भएकोले स्वयम्लाई गुरुकुल शिक्षाको थोरै भए पनि स्मरण हुन्छ, लगभग वि.सं. २०१५ देखिका केही कुराहरू । वि.सं. १९७४ सालमा त्यसकार्यकालको सरकारले शिक्षा प्रदान तथा शिक्षाको प्रचारप्रसार गर्नका लागि काठमाडौं निवासी (हालको विन्धावासिनी गाविस–९) निवासी ऋषिराम उपाध्याय
(बास्कोटा) लाई दैलेख जिल्लाको सदरमुकाममा भाषा पाठशाला सञ्चालन गरी पठनपाठन प्रारम्भ गर्नु भनी पठाइएको थियो । वि.सं. १९७४ ले हालसम्म ९९ वर्ष पूरा भएको छ ।

विगतमा गुरुकुल शिक्षा थियो भने हाल आएर वैज्ञानिक प्रविधिको व्यवहारिक शिक्षा उन्मुख भएको छ । शिक्षक, शिक्षिकाहरू पनि आ–आफ्नो विषयको विद्वान (ज्ञाता) नै छन् । पटक–पटक शैक्षिक तालिम केन्द्रबाट पुनर्ताजकीय तालिम प्राप्त गर्दछन् । सरकारी साधनस्रोत पाठ्यपुस्तक पनि विगतको तुलनामा साहै्र अभाव छैन कि उ पंक्तिकार स्वयम् पनि केही समय अध्यापन पेशामा रही तत्पश्चात् व्यवस्थापन समितिको अध्यक्ष तथा हाल पनि जनआदर्श कोटदेवल क्याम्पस अवलपराजुल दैलेखको सल्लाहकार सदस्य भएको नाताले समालोचना गर्दै अध्यापनका क्रममा शिक्षा प्रदान गर्दा आफ्नो विषयमा कही बाँकी नराखी शतप्रति पठाएको हुनुपर्छ जस्तो लाग्दछ । कतिपय शिक्षक मित्रले लापरबाही गरेको अभिभावकको दृष्टिमा पनि प्रष्ट नै छ । यस प्रकारको त्रुटी नभइदिएमा कल्याण हुनेछ ।

विद्यार्थी वर्गको अध्ययनबारे वर्गीकरण गर्दा लगभग ४ प्रकारको पाउन सकिन्छ । (१) अतिउत्तम (२) उत्तम (३) मध्यम र (४) साधारण । यी मध्ये गुरुहरूले कमजोर विद्यार्थीहरूलाई फुर्सदको समय (१०–४) विद्यालय भित्र नै तिमी असल विद्यार्थी हौ भन्ने हौसला प्रदान गर्दै प्रेरणायुक्त शब्दमा किन ? कसरी ? आज भोलि कमजोर भयौ त ? भन्ने प्रश्न गर्ने र विद्यार्थीबाट प्राप्त भएका उत्तरहरू उसका आफ्ना अभिभावकलाई नभनेर(गोप्य राखी) अर्कै दृष्टान्तबाट विद्यार्थीको बारेमा सहयोग र सुधार गर्न निर्देशन दिएमा उसको अध्ययनको स्तरवृद्धि हुन्छ ।

अध्ययनकर्ता विद्यार्थी पक्षः सरकारी विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूमध्ये कक्षा १ देखि ५, कक्षा ६ देखि ८ कक्षा, ९ देखि १०, कक्षा ११ देखि १२ सम्म हाल आएर शिक्षा ऐनको आठौं संशोधनमा कक्षा १ देखि ८ तथा ९ देखि १२ सम्म र उच्च माविलाई माविमा राखेको अवस्था भएकोले अक्षरांक पद्दति समेत लागू गर्दा कता–कता पटक–पटकको हेरफेरले पनि बुझ्न बुझाउन भने कठिन भएको अवस्था देखिन्छ ।

कक्षा १–५ र कक्षा ६–८ का विद्यार्थी भाइबहिनीहरू आफ्नो कक्षाको पाठ्यक्रम अनुसार अत्यन्त मेहेनत गर्नु पर्दछ । किन भने तल्लो कक्षामा कमजोर अवस्था भयो भने पढाएको पाठ बुझ्न अत्यन्न गाह्रो पर्दछ । पाठ बुझन् सकिएन भने क्रमशः पछि पर्दै जाने अवस्था आउँछ र आफूमा उत्साह कम हुन सक्दछ । कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरू शुद्ध के हो, अशुद्ध के हो, ह्रस्व–दीर्घ छुट्याएर शुद्ध लेख्ने पढ्ने तथा नेपाली अङ्ग्रेजी दुवै भाषामा निबन्ध, चिठ्ठीपत्र त्यसै पाठभित्रका विषयमा लेख्ने पढ्ने प्रयास लगातार गरी पढाइको जग बलियो बनाउँदै जाने प्रयास गर्नै पर्दछ ।

कक्षा ९ देखि १२ सम्म अध्ययन र विद्यार्थीहरूमा इच्छाशक्ति मेरो उद्देश्य भनेको पढ्ने हो भन्ने स्वयम्ले भावना बनाउन सक्नुपर्दछ । वर्तमान (२१ औं शताब्दी) भनेको ज्ञान विज्ञानको युग हो । आफूले आफ्नो भविष्यबारे सोच्ने र अभिभावकले गरेको लगानीलाई सदुपयोग गरी भविष्यमा यो देशको कुशल सक्षम नागरिक भइ राष्ट्र निर्माणको लागि योगदान गर्नेछु, हालको अक्षरांश पद्दतिको नतिजामा ९ब्ं, ब्, द्यं० भन्दा तल कुनै पनि विषयमा पर्दिन भन्ने उच्च भावनाले प्रेरित भइ अगाडि बढेमा विदेशी भूमिमा रोजगारीको लागि भौंतारिनु पर्ने अवस्था आउँदैन । कक्षा ९ देखि १२ मा पढ्ने तथा १५ देखि २०–२१ वर्ष उमेर भएका सहशिक्षा प्रणाली समूहगत अध्ययनरत विद्यार्थी वर्गमा विनम्र अनुरोधका साथ सल्लाह छ । मेरो प्रश्न गरौं, ‘औंशीको रात (निलो, कालो) मन पराउने कि पूर्णिमाको जुनेली मन पराउने ?’ उत्तर के दिने ? सायद उत्तरमा ‘औंशीको रात अन्धकार हुन्छ । कहीं केही देखिदैन भयाबह हुन्छ मार्ग रोकिन्छ । जबरजस्ती हिँडे हरेक खतरा हुन्छ । पूर्णिमाको रातमा जहिले पनि हिँडौं हिँडौं लाग्छ । सुन्दर झलमल हुन्छ तथा वातावरण रमाइलो लाग्दो हुन्छ ।’

विज्ञान र प्रविधिको युगमा यी तलका केही बुँदाहरू अक्षरशः पालना मात्र गर्नुभयो भने पनि निश्चित छ तपाईंहरूको सफलता ती हुन्ः
-शान्ति
-लक्ष्य, उद्देश्य
– योजना
-काम, कर्म
-नतिजा, फल
विज्ञान प्रविधिको युगमा वैज्ञानिक साधन टिभी, कम्प्युटर, मोबाइल आदि तपाईंहरूको हातहातमा छन् । त्यहाँ भाग्यमानी हुनुहन्छ तपाईंहरू । प्रयोग गरौं तर कति समय दिने ? राम्रो के हो ? नराम्रो के हो ? छुट्याउनुहोस् । मात्र सीमित समय दिनुहोस् अन्यथा धोका हुन्छ । जीवनमा अर्को छ लागूपदार्थ जसले हाम्रो जीवनमा नरक निम्त्याउनेछ । भविष्यलाई पूर्णिमाको रात जस्तै बनाउन इच्छा शक्ति हुनै पर्छ । इच्छाशक्ति आफूले आफै ल्याउन सकिन्छ । कुनै पनि किताब कापी वैज्ञानिक विद्वानका किताब हातमा समात्दै हिँड्नुहोस् । आफ्नो पाठ नबुझेमा विषयगत गुरुसँग विनम्र अनुरोध गर्नुहोस्, तुरुन्तै तपाईंहरूको समस्याको समाधान हुन्छ । गुरुको मान गर्नुहोस् । नजिक हुनुहोस्, सादा जीवन सरसफाइ, असल मानिससँग संगत गर्नुहोस् । घमण्ड कहिले पनि नगर्नुहोस् । यो समय तपस्याको समय हो । संकल्प गर्नुहोस् । ‘यं य चिन्तयते कार्य तं तं प्राप्तोति निश्चितम्ः ।’ इच्छाशक्ति प्रयोग गर्नुभयो भने मनोकामना पूरा हुन्छ । आफू जे बन्न चिताउनुहुन्छ त्यही नै प्राप्त निश्चित छ । अध्ययनमा लाग्ने समय प्रत्येक अहोरात को १÷३ अर्थात् ३+३+२.८ घण्टा हुनै पर्दछ । लेख्दै जाँदा अर्को ‘अ’ पनि देखाप¥यो त्यो शब्द हो, अनुगमन (कार्यालयको अधिकार पाएका व्यक्तिको निरीक्षण, रेखदेख) । नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग क्षेत्रीय शिक्षा निर्देशनालय जिल्ला शिक्षा कार्यालय एवम् अधिकार हस्तान्तरण भएका अधिकारीहरूबाट विद्यालय अनुगमनमा भए गरेका अध्ययन अध्यापन, अभिभावकका काम कुरा, शिक्षामा भएको विषयगत सिकाइ प्रतिशत आदिका बारेमा निष्पक्ष रही जस्ताको त्यस्तै आफ्नो अधिकार प्रयोग गर्दा शिक्षामा सुधार निश्चित हुने थियो तर लेख्न भन्न सजिलो छ, अवलोकन अनुगमन गर्ने अधिकारीहरूलाई काम स्वच्छ रूपले गर्न नदिने लहरो कहाँ छ कहाँ ? तथापि हेर्नैपर्छ अधिकारप्राप्त काम गर्नु हाम्रो कर्तव्य एवम् धर्म पनि हो । कतिपय विद्यालयमा प्रश्नहरू समयमा पुगेका हुँदैनन् । कतिपय विद्यालयमा विषयत शिक्षकको अभाव छ । कही वार्षिक परीक्षा नजिकै हुँदासम्म पूरा पाठ सिध्याइएको हुँदैन ।

योग्य, सक्षम प्रधानाध्यापक नहुँदा विद्यालयमा अत्यन्त असजिलोपन हुन्छ । कुशल प्रशासनको अभावमा केही पनि राम्रो हुँदैन । कतिपय प्रधानाध्यापक कुर्सी र आर्थिक लाभमा मोहित भइ विज्ञ, निष्पक्ष व्यक्ति आएमा आफूले हालीमुहाली गर्न पाइन्नकि भनी संकोचित नजरले विद्यालय व्यवस्थापन समिति गठन गर्दा आधिकारिक अभिभावक बाबुआमालाई अभिभावक हैनन् हुन सक्दैनन् भन्नेसम्म पछि पर्दैनन् । पछि शिक्षाले निर्देशन दिँदा थरथरी काँप्दै अँध्यारो कोठामा बिराएँ भन्दै अभिभावकको खुट्टा ढोक्छन् पनि । के यही हो त गुरु धर्म ? कहीं कतै भविष्यमा सरस्वतीमाताको श्राप परिन्छ कि भन्नेसम्म सोचिदैन उ अनि अभिभावकले कसरी विश्वास गर्लान् त ? कतिपय विद्यालयमा विभिन्न निकायबाट प्राप्त रकम हिनामिना छ । केही छात्रवृत्ति, कुनै विद्यालयमा प्राक्टिकल नम्बर तलमाथि । यो आदिमा पनि स्वविवेक नभएको होला त ? विद्यालय पोशाक आचारसंहिता मात्रै विद्यार्थीको लागि हो त ? सहकर्मी शिक्षकहरूसँग बेमेलले पठनपाठन र गुणात्मक शिक्षा कता हो कता । यस्तै यस्तै तितर वितर भएका विद्यालयहरू पनि नहोलान् त ? यस्तो स्थितिमा अनुगमनकर्ताले टुलुटुलु हेर्न हुँदैन जस्तो लाग्छ । यस्ता पक्षलाई निर्भिकताको साथ सुधारौं । सत्य आखिर सत्य नै हुन्छ । समाजका हामी सबै पक्ष जिम्मेवार भइ भविष्यमा स्वच्छ, सक्षम, पवित्र गुणात्मक शिक्षातर्फ अगाडि लैजाने हाम्रो कर्तव्य हो । यही कसमले हाम्रा विद्यालय अगाडि बढाउन जीवन प्रयन्त प्रयास गरौं ।

प्रकाशित मितिः   २८ मंसिर २०७३, मंगलवार १५:००