काठ तस्करीमा संगठित गिरोह सक्रिय

जिल्ला वन कार्यालय सुर्खेतका कर्मचारीले मध्यरातमा गस्ती गरी आइतवार बिहान वीरेन्द्रनगर–१४ बामेखोलाबाट अवैध काठ ओसार–पसारमा संलग्न सात जना महिलालाई पक्राउ ग¥यो । त्यसको २४ घण्टा बित्न नपाउँदै सोमवार छिन्चुबाट खोल्सामा लुकाइराखिएको ठूलो परिणामको काठ बरामद गरियो । कार्यालयले दुई दिनमै एक सय ४० क्यूफिटभन्दा बढी काठ बरामद गरेको छ ।

आइतवार र सोमवारका यी दुई वटा घटना त उदाहरण मात्रै हुन् । पछिल्लो समय जिल्ला वन कार्यालयले जंगलमै गस्ती गरी धमाधम काठ र तस्करहरू पक्राउ गर्दै आएको छ । एक वर्षको अवधिमा करिब पाँच सय क्यूफिट काठ बरामद भइसकेको कार्यालयले जनाएको छ । त्यसैगरी तस्करीमा संलग्न पाँच दर्जनभन्दा बढी व्यक्तिहरूलाई ऐन अनुसार मुद्दा दर्ता गरिसकिएको छ भने ३६ वटाको गत वर्ष मात्रै फैसला भएको विष्टले जानकारी दिए ।

एकपछि अर्को गर्दै धमाधम काठ तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ पर्नु र लुकाइ राखिएका काठ फेला पर्न थालेपछि जिल्ला वन कार्यालय सुर्खेत काठ तस्करीमा सङ्गठित गिरोह नै सक्रिय रहेको निश्कर्षमा पुगेको छ । जिल्ला वन अधिकृत हेमराज विष्ट भन्छन्, ‘पछिल्लो समय हामीले पक्राउ गरेको काठ र तस्करीमा संलग्न व्यक्तिहरूको तथ्याङ्कन हेर्ने हो भने यहाँ तस्करहरू सङ्गठित रूपमै काठको तस्करीमा लागेको बुझ्न गाह्रो छैन ।’

आइतवार पक्राउ परेका महिलाहरूले आफूहरू भरियाको रूपमा मात्रै प्रयोग भएको बताएका छन् । तर रातको साढे दुई बजे पक्राउ परेकाले उनीहरू भरिया मात्र नभएर विगतदेखि नै तस्करीमा संलग्न भएको हुनसक्ने आँकलन वन कार्यालयले गरेको छ । ‘यस्तो चिसो मौसम छ, मध्यरातमा जंगलबाट काठ ओसार्न जाने व्यक्ति सामान्य भरिया मात्र होला भनेर भन्न मुस्किल छ’ विष्टले भने, ‘तर महिलाहरूले मुख्य नाइकेको रूपमा अर्को व्यक्तिको नाम लिएकाले पनि थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका महिलाहरूमाथि पनि कार्यालयले अनुसन्धान जारी राखेको छ ।

यस्तै सोमवार बिहान भेरीगंगा नगरपालिका–१२ मा पर्ने तालवारी वन क्षेत्रमा लुकाएर राखिएको ठूलो परिणाममा चिरान र गोलिया काठ वनका कर्मचारीले बरामद गरेका छन् । इलाका वन कार्यालय छिन्चुका रेन्जर अशोक खत्रिसहितको टोलीले एक सय २० क्यूफिट काठ बरामद गरेको हो । बरामद गरिएको काठमा ८८ थान अर्थात् ४४.२८ क्यूफिट सालको चिरान काठ, ८.१७ क्यूफिट सल्लोको चिरान काठ, साल गोलिया र फन्टा नौ को ६८.५४ क्यूफिट रहेको वन अधिकृत विष्टले जानकारी दिए । ‘मानिसहरूको आवात–जावत खासै नहुने खोल्साहरूमा चिरान गरी लुकाएर राखिएको रहेछ’ अधिकृत विष्टले भने, ‘अवस्था हेर्दा कुनै काठको गिरोहले नै यो काम गरेको देखिन्छ ।’
जिल्लाको ग्रामीण भेगबाट तस्करहरूले विभिन्न नाका प्रयोग गरी काठ सदरमुकाम भिœयाउने गरेका छन् । सूचनाका आधारमा यस्ता नाकाहरूमा रातको समयमा पनि गस्ती गरी वन कार्यालयले काठ र तस्करहरू पक्राउ गरिसकेको छ । ‘तस्करहरूको जालो फैलिएको छ’ अधिकृत विष्टले भने, ‘त्यसलाई तोड्न हामीले हाम्रो जनशक्ति र क्षमताले भ्याएसम्म प्रयास गरिरहेका छौं ।’ तर नागरिकस्तरबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो उनले गरे । वन संरक्षणको जिम्मेवारी नागरिकको पनि भएको भन्दै उनले नागरिकहरू नै सचेत भइदिने हो भने तस्करहरू आफैं हतोत्साही हुने बताए ।

प्रकाशित मितिः   २८ मंसिर २०७३, मंगलवार १४:०६