सातै प्रदेशमा एमाले प्रतिपक्ष

सुर्खेत – नेकपा (एमाले)ले सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश सबैतिर प्रतिपक्षी बनेको छ ।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि एमाले मात्रैको नेतृत्वमा संघीय सरकार र चारवटा प्रदेश सरकार बनेका थिए । सोमवार आचार्यको राजीनामासँगै एमाले संघ र प्रदेश सबैतिर विपक्षमा पुगेको हो ।

गत भदौ १० मा मुख्यमन्त्री बनेका आचार्यको सरकारले ६८ दिनमै सोमवार ढलेको छ । बहुमत नपुग्‍ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले विश्वास प्रस्तावमा मतदान प्रक्रिया सुरु हुनुअघि राजीनामा दिएका छन् ।

नेकपा विभाजनको कारण यसअघि एमालेले संघीय सरकार, गण्डकी र लुम्बिनीको प्रदेश सरकार गुमाएको थियो । गत भदौमा एमाले पनि विभाजित भएपछि बागमति र प्रदेश १ को सरकार पनि गुमायो । २०७४ सालको आमनिर्वाचनमा प्रदेश १ र बागमति दुवैमा एमालेको एकल बहुमत प्राप्त गरेको थियो । तर भदौ ९ गते एमाले औपचारिक रुपमा विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि दुवै प्रदेशमा बुहमत गुमाएको हो ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १७:०१