प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमवार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

विश्वासको मतको प्रस्तावमा आज निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेमा ४२ औं दिनमा कार्तिक ५ गते प्रदेशसभामा प्रस्ताव राखेका थिए ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार १५:१४