गठबन्धन धोका हाे, त्यसको पुष्टि कर्णालीमा भइसक्योः महेश बस्नेत

सुर्खेतः  नेकपा (एमाले) का नेता महेश बस्नेतले राजनीतिक दलहरूबीच भएको अहिलेको गठबन्धन धोकाबाहेक केही नभएको बताएका छन् । उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) लगायतका दलले सत्तामा आफूमात्र टिकिराख्न एक–अर्कालाई विश्वास घात गर्दै आएको जनाए । प्रेस चौतारी नेपाल सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘सत्ता घटक दलनै एक–अर्कालाई घात गरिरहेका छन् । त्यसको पुष्टि कर्णालीमा भइसक्यो ।’

पूर्वमन्त्री समेत रहेका बस्नेतले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस–माओवादीको सहमति कता हरायो भन्दै यो सत्ताका लागि गरिएको छल र स्वार्थ मात्र भएको दाबी गरे । ‘उहाँहरूको नियत छताछुल्ल हुँदैछ, देख्नुभयो नी गठबन्धन के का लागि बनेको रहेछ । त्यो त कर्णालीमा देखिएकै छ ।’

कांग्रेस, माओवादी र समाजवादी मुलुकप्रति जिम्मेवार नभएको र राजनीतिक इमान्दारिता नरहेको प्रमाणित भइसकेको पनि उनले जिकिर गरे । ‘जनताले उनीहरूको एक–एक हिसाब राखिरहेका छन् । गठबन्धन जति लम्बियो एमालेलाई उत्तिनै फाइदा छ,’ नेता बस्नेतले भने । सत्ता साझेदारका जालझेल र स्वार्थ धमाधम सार्वजनिक हुँदै गएको समेत उनले बताए ।

यतिबेला न्यायालयमा देखिएको संकटलाई प्रमुख प्रतिपक्षी दलले किन बेवास्ता गरेको हो ? भन्ने पत्रकारहरूको जिज्ञासामा बस्नेतले न्यायालयका समग्र विकृति र बेथितिको समाधान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखे । एमाले प्रधानन्यायाधीशमाथि सदनमा तत्कालै महाअभियोग प्रस्ताव लैजाने पक्षमा भने नरहेको उनले प्रष्ट पारे ।

नेता बस्नेतले सरकारको नेतृत्वमा रहँदा एमालेले मुलुकको अगुवा पार्टी भएको प्रमाणित गरिसकेको बताए । ‘हामी यतिबेला पार्टीका तल्लो कमिटीका अधिवेशनमा छौँ, चितवनमा हुने महाधिवेशनपछि एमाले थप एकताबद्ध र विशाल पार्टी हुनेछ,’ उनले भने । नेता बस्नेत दैलेखको गुराँस गाउँपालिकामा एमालेको गाउँ कमिटी अधिवेशनलाई सम्बोधन गर्न जाने क्रममा वीरेन्द्रनगर आएका हुन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार ११:२१