सुदूरपश्चिम सरकारको नेतृत्वमा समाजवादीको दाबी

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।  पार्टीका उप–महासचिव प्रकाश ज्वालाले प्रदेशमा सबैभन्दा ठूलो दल समाजवादी नै रहेकोले सरकारको नेतृत्वमा दाबी गरिएको बताए ।  उनले भने, ‘सुदूरपश्चिममा हाम्रो दाबी छ । बागती र सुदुरपश्चिममा हाम्रो नेतृत्व हुन्छ ।’

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् । त्यसपछि माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।

अहिले माओवादीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीसहितको सरकार रहेको छ ।

गठबन्धनबीच  कांग्रेस, माओवादी र एकीकृत समाजवादीले २–२ प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो । अहिले माओवादीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेश नेतृत्व गरिरहेको छ । लुम्बिनीमा भर्खरै नेतृत्व पाएको हुँदा सुदूरपश्चिम वा कर्णाली प्रदेशमध्ये एक प्रदेश माओवादीले छोड्नुपर्ने स्थितिमा सुदूरपश्चिम प्रदेशबाट माओवादीको नेतृत्व गुम्ने सम्भावना बढेको छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार १३:५२