खाद्यको चामलमा मिसावट नभएको पुष्टि

वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रदेश कार्यालयले सहुलियत मूल्यमा उपलब्ध गराएको चामल खानयोग्य नभएको आशंकामा बिक्रीमा रोक लगाइएको थियो । तर, उक्त चामलमा कैफियत नभएको पुष्टि भएको छ । चामल खानयोग्य रहेको रिपोर्ट आएको हो ।

चामल मिसावट गरेर पठाइएको भन्दै बिक्री रोकिएकोमा आज ‐आइतवार) देखि पुनः बिक्री सुरू गरिने भएको छ । चामलको नमुना परीक्षण गर्दा गुणस्तरीय पाइएपछि बिक्री खुला भएको कम्पनीको प्रादेशिक कार्यालयका लेखा सहायक विनोद पौडेलले बताए । कम्पनीको गोदाममा रहेको एक हजार नौ सय ७५ क्वीन्टल बासमती चामल परीक्षण गर्दा खानयोग्य पुष्टि भएपछि बिक्री गर्न लागिएको हो ।

काठमाडौं थापाथलीस्थित कम्पनीको गोदाममा कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बिक्री वितरणमा रोक लगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डिभिजन कार्यालय सुर्खेतलाई चामलको ल्याब परीक्षणका लागि नमुना संकलन गर्न निर्देशन गरेको थियो । संयुक्त अनुगमन टोलीले नमुना संकलन गरी नेपालगञ्जस्थित प्रयोगशालामा पठाएको थियो । गएको असोज ६ गते बिक्रीमा रोक लगाइएको चामलको प्रयोगशालामा परीक्षण गर्दा मिसावट नभएको र खानयोग्य भएको पाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार ०५:०५