दीर्घकालीन विकल्प

प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदो छ । खानेपानीकै लागि समस्या छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । तर त्यो पर्याप्त छैन । उपत्यका आसपासका विभिन्न साना स्रोतबाट हाल वीरेन्द्रनगरमा करिब एक सय ६० लिटर प्रतिसेकेण्ड पानी आउँछ । जब कि माग भने दुई सय ५७ लिटर प्रतिसेकेण्डभन्दा बढी छ । आपूर्तिभन्दा माग निकै बढी रहेको छ । अर्कोतर्फ उपत्यकामा हरेक वर्ष आठ सयदेखि एक हजारसम्म घरधुरीले धाराका लागि आवेदन दिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिले १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन् । यसले पनि पानीको समस्या थप बढ्दै जाने देखिएको छ । यद्यपि विकल्पको खोजी भने भइरहेको छ । झुप्रा खोलाबाट ल्याइएको पानी अपुग भएपछि थप स्रोतको खोजी भइरहेको थियो । जसअनुसार भेरी नदीको पानी उपत्यकामा ल्याउने योजना अघि सारिएको छ । केही वर्षदेखि चर्चा हुँदै आएको यो परियोजना अघि बढ्ने संकेत देखिएको छ । भेरीको पानी नै दीर्घकालीन विकल्पको रूपमा हेरिएको छ ।

उपत्यकामा बढ्दो जनघनत्वसँगै पानीको अभाव बर्सेनि बढ्दै गएका छ । जसले गर्दा पानी पुु¥याउन हम्मेहम्मे भएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । त्यतिबेला ९६ घण्टासम्मको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ । उपत्यकावासीको खानेपानी समस्या दीर्घकालीन समाधान गर्ने एक मात्र विकल्पका रूपमा भेरी पम्पिङ आयोजना मानिएको छ । यो आयोजनालाई लगानीका हिसाबले बहुचर्चित मेलम्ची खानेपानी आयोजना पछिको दोस्रो ठूलो आयोजनाको रूपमा विभागले हेरेको छ । यही बहुप्रतिक्षित भेरी पम्पिङ खानेपानी आयोजनाको निर्माण पूर्वको कामले गति लिएको हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो खुलेको छ । विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुने बुझिएको छ । यसमा किन पनि विश्वस्त हुन सकिन्छ भने लगानीको स्रोत सुनिश्चित भइसकेको छ । डीपीआर बनेपछि विश्व बैंकले आयोजनामा लगानी गर्ने सुनिश्चित भएको हो ।

भेरीको पानी ल्याउने योजना बृहत् परियोजना हो । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार बनाएर सोही अनुरूपका संरचना निर्माण गर्न डीपीआर तयार पारिएको छ । वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजनासहित अघि बढिएको छ । डीपीआर सकिएकाले अब तिहारलगत्तै टेण्डर हुने जनाइएको छ । सात अर्ब ५२ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजना निर्माण भएपश्चात् वीरेन्द्रनगरमा पाँच सय लिटर प्रतिसेकेन्ड पानी झर्ने छ । यसले यहाँको पानी समस्या समाधान गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसअघि परियोजना निर्माणको कामलाई भने तीव्रता दिनुपर्ने हुन्छ । निर्धारित लक्ष्यअनुसार आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार ०५:००