आजका प्रमुख सात समाचार

  • देशभर थप तीन सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिवार ९ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार तीन सय ९९ पुगेको छ ।

 

  • विभिन्न विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौं  र अखिल (क्रान्तिकारी)ले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । मूल्यवृद्धिका कारण नेपाली जनजीवनलाई कठिन बनाएको ती संगठनको ठहर छ ।

 

  • राष्ट्रिय भूमि आयोगले भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने भएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई माघ मसान्तभित्र पूर्जा वितरण गरिने जानकारी दिएका हुन्।

 

  • देशभर चिसो बढेको छ। औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताए । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

 

  • अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेयता नौ सय ४० जना नेपालीको उद्धार गरिएको छ । शनिवार स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या ९ सय ४० पुगेको हो । अब अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरु मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

  • नेपाली फुटबल टिमका प्रशिक्षक अबदुल्ला अलमुताइरी आज नेपाल फर्किँदै छन् ।  दक्षिण एसियाली फुटबल (साफ)को सेमिफाइनलपछि नेपाल नफर्किने गरी राजीनामा दिएका उनले गत बुधवार मात्रै पुन: नेपाल फर्किने निर्णय गरेका थिए । गत साता कतारमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भएको छलफलपछि उनले आफू नेपाल फर्किने सामाजिक सञ्जालमार्फत जनाएका थिए ।

 

  • वीरेन्द्रनगर नगरपालिका काँक्रेविहार गाेल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा चिङ्गाड गाउँपालिकालाई ३-२  गोलअन्तरले पराजित गर्दै वीरेन्द्रनगर उपाधि नजिक पुगेको हो । वीरेन्द्रनगरले अब उपाधिका लागि पञ्चपुरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतवार हुने छ ।
प्रकाशित मितिः   १३ कार्तिक २०७८, शनिबार १८:४५