राजधानीमै यातायातको असहजता
कर्णालीको राजधानी सहर हो, वीरेन्द्रनगर । तर, राजधानीमा आवश्यक पर्ने आधारभूत पूर्वाधार समेत यहाँ छैनन् । अधिकांश सडक जीर्ण छन्, नगरभित्र यातायातको भरपर्दो सेवा छैन । नागरिकलाई आवत–जावत गर्न निकै सकस छ । नगरका सबै स्थानमा सार्वजनिक यातायात पुग्दैनन् । यातायातका साधन पाइएपनि भाडा निकै महँगो तिर्नुपर्छ । यात्राको असुविधाले नगरका बासिन्दा मात्र नभइ अन्यत्रबाट यहाँ आउने नागरिकहरू मर्कामा परेका छन् । यातायातको सुविधा नहुँदा असहज यात्रा गर्नुपर्ने बाध्यता वीरेन्द्रनगरमा छ ।
राजधानीकै नगरमा भरपर्दो यातायातको सुविधा नपाएको नागरिकहरूले गुनासो गर्दैै आएका छन् । स्थानीय र प्रदेश सरकारले वीरेन्द्रनगरलाई ‘स्मार्ट सिटी’ उन्मुख संरचनाको विकास गर्दै लैजाने नीति लिए । तर, वर्षाैं बिते पनि त्यसको कार्यान्वयनको अवस्था निराशाजनक छ । पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको गति निकै सुस्त देखिएको हो । सरोकारवाला निकायको उदासीनताले यहाँका नागरिक राजधानीको सुविधा उपभोग गर्नबाट वञ्चित हुँदै आएका हुन् ।
स्थानीय सरकार गठन भएको झन्डै पाँच वर्ष पुग्नै लागेको छ । नगरपालिका आफैले बनाएको नीति कार्यान्वयनमा जोड दिएको छैन । ‘वीरेन्द्रनगर स्मार्ट सिटी’ अन्तर्गत सडक पूर्वाधारको विकास तथा स्तरोन्नतीसँगै नगर बस सञ्चालनमा ल्याउने भनिएको थियो । सोही अनुसार नीति पनि बन्यो । हालसम्म यसको प्रगति शून्य छ ।
‘नगरवासीको यात्रालाई सहज बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्ने नीति बनाइएको छ,’ नगर उपप्रमुख मोहनमाया ढकाल भन्छिन्, ‘कार्यान्वयका लागि बजेटिङ्गको समस्या हो ।’ उनका अनुसार यसबारे नगरसभामा छलफल पनि भएको हो । तर, महŒवको योजनामा परेन । बजेट विनियोजन भएन । ढकालले भनिन्, ‘नगर बस व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको लागि पर्याप्त स्रोत–साधन आवश्यक पर्छ । दीर्घकालीन सोच र योजनाका साथ सञ्चालन गर्नेगरी तयारी हुँदै छ ।’ उनले वीरेन्द्रनगर क्षेत्रमा नगर बस अति आवश्यक भइसकेको समेत जनाइन् ।
सर्वसुलभ यातायातको सेवा नहुँदा प्रदेशका अन्य जिल्लाबाट वीरेन्द्रनगर आउनेहरू झन् सास्ती खेप्न बाध्य छन् । स्थानीयलाई दैनिक उस्तै कठिनाइ छ । अटोरिक्सालगायतका केही सवारी साधन पाइने गरेपनि चर्को भाडाका कारण सर्वसाधारण हैरानीमा छन् । कर्णाली प्रदेशका कतिपय दुर्गम क्षेत्रमा रहेका पालिकाहरूमा यातायात सुविधा दिइसकिएको छ । नगर क्षेत्रका सर्वसाधारणलाई आवत–जावतमा सहजता ल्याउन पालिकाहरूले यातायात सेवा सुरू गरेका छन् । पैदल तथा महँगो सार्वजनिक सवारी साधनको प्रयोग गर्दै आएका स्थानीयहरू नगरको सहुलियत भाडामा यात्रा गर्न पाउँदा खुसी छन् । ती पालिकामा सहुलियत भाडामा यात्रु बोक्ने गरिएको हो ।
प्रदेशमै पहिलो पटक नगर बस सेवा दिएको रूकुम–पश्चिमको चौरजहारी नगरपालिकाले बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको छ । जिल्लाका अन्य पालिकाले समेत चौरजहारीकै सिको गरेर धमाधम बस सेवा दिन थालेका छन् । दैलेखमा केही स्थानीय तहले सर्वसुलभ यातायात सेवा उपलब्ध गराइसकेको छन् । त्यहाँको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले सर्वसाधारणलाई दुई वर्ष अघिदेखि यातायात सेवा दिइरहेको छ । वीरेन्द्रनगरले भने नगर बस सञ्चालनका लागि पटक–पटक नागरिकस्तरबाट आवाज उठेपनि बेवास्ता गर्दै आएको हो । सहुलियत भाडादरमा यातायात सेवा दिने नगरको योजना कार्यान्वयन हुनेमा अझै अन्योल छ । हालका जनप्रतिनिधिको कार्यकालभरी यो योजनाले प्राथमिकता नपाउने निश्चित प्रायः छ ।
वीरेन्द्रनगरमा सञ्चालन भएका अटोरिक्साले मनलाग्दी भाडा असुल्दा समेत नगरपालिका मुकदर्शक बनेको स्थानीयको आरोप छ । नगरले अटोरिक्सा सञ्चालनलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारण दैनिक ठगिने गरेको वीरेन्द्रनगर–३ तातापानीका जित विष्टले बताए । ‘न नगरले सेवा दियो न त यहाँ सञ्चालित यातायातलाई व्यवस्थित गर्न सकेको छ,’ उनले भने, ‘नगरपालिकाको उदासीनताले हामीलाई सास्ती भएको छ ।’ बजार क्षेत्रमा अटोरिक्सा सञ्चालन भएपछि नागरिकलाई सुविधा भए पनि जथाभाबी भाडा असुल गर्नाले यात्रुहरू मारमा छन् ।
प्रकाशित मितिः १४ कार्तिक २०७८, आईतवार ०५:००
साझा बिसौनी ।