उपत्यकामा खानेपानीको अभावः अब ३६ घण्टा कुर्नुपर्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन ।
सुर्खेत उपत्यकामा खानेपानीको हाहाकार नै हुने संकेत देखिएको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानीको मुहान सुक्न थालेकाले खानेपानीको अभाव हुने जनाएको हो । मुहानमा पानीको मात्र कम भएसँगै संस्थाले पानी वितरणको नयाँ तालिका बनाएको छ ।
अब उपत्यकाबासीले ३६ घण्टाको अन्तरालमा मात्र खानेपानी पाउने छन् । संस्थाले झुप्रा, इत्राम र खार्के खोलाको मुहानमा पानीको मात्र घटेकाले पानीको आपूर्तिमा समस्या भएको जानकारी दिएको छ । अब ३६ घण्टाको अन्तरालमा एकपटक धारामा पानी दिइने भन्दै संस्थाले यो २० दिनका लागि मात्र भएको जनाएको छ । अबको २० दिनपछि मुहानमा पानीको मात्र थप घट्न सक्ने र त्यसपछि ४८ घण्टासम्म कुर्नुपर्ने अवस्था आउने संस्थाले अनुमान गरेको छ ।
संस्थाले बुधवार पत्रकार सम्मेलन गरेर विगतमा लामो खडेरी परेको बेलामा वैशाख र जेठमा पानीको अभाव हुने गरेको भन्दै यसपटक फागुनमा नै समस्या उत्पन्न भएको जनाएको हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले यसपाली फागुनमा नै मुहान सुकेको भन्दै चिन्ता व्यक्त गरे । यही अवस्था रहे खडेरीको समयमा थप संकट पैदा हुन सक्ने उनको भनाइ छ । मुुहानमा पानीको मात्रा घटेका कारण समस्या पैदा भएको भन्दै उनले भने, ‘तत्काल अर्को विकल्प छैन, हामी यही स्रोतलाई सबैलाई समान रूपमा वितरण गर्नेछौं । बरु सबैले खानेपानीलाई आवश्यता अनुसार मात्र प्रयोग गरौं, चुहावट रोक्नका लागि हामी सचेत छौं ।’ साथै उनले अब आफूहरूले पालैपालो पानीको आपूर्ति गर्ने भन्दै एकपटक बिहान र अर्को पटक बेलुकी पर्ने गरेर पानी वितरण गरिने जानकारी दिए ।
संस्थाका अनुसार उपत्यकामा दैनिक एक करोड २७ लाख लिटर खानेपानी आवश्यक भए पनि संस्थाले ८४ लाख लिटर पानी आपूर्ति गर्दै आएको थियो । तर, अहिले त्यो पनि घटेर केवल ६६ लाख लिटर मात्र उपलब्ध भएको अध्यक्ष देवकोटाले बताए । मुहानमा पानीको मात्रा नै कम हुँदै गएकाले माग अनुसार पानीको आपूर्ति गर्न कठिन भएको उनको भनाइ छ । साथै उनले ३६ घण्टासम्म कुर्नुपर्ने बाध्यता भए पनि कम्तीमा सबैको धारामा एक घण्टाका दरले पानी आउने समेत जानकारी दिए । फागुनमा नै पानीको अभाव सुरु भएपछि अब उपत्यकामा खडरीको समयमा खानेपानीको चरम संकट हुने संकेत देखिएको छ ।
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:२२