साढे तीन लाख व्यक्तिलाई हात्तीपाइलेको औषधि खुवाइने

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन ।
सुर्खेतमा साढे तीन लाख भन्दा बढी व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर यो जानकारी दिएको हो ।
कार्यालयका अनुसार यही फागुन २९ गते जिल्लाभर नै हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । उक्त दिन स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूले नजिकै रहेको पायक पर्ने स्थानमा सर्वसाधारणलाई निःशुल्क औषधि खुवाउने छन् । उक्त दिन छुटेकाहरूलाई भने फागुन ३० गते र चैत १ गतेका दिन घरघरमै पुगेर औषधि खुवाइने छ । 
औषधि खुवाउनका लागि जिल्लामा पाँच सय स्वास्थ्यकर्मी र दुई हजार स्वयम्सेवकहरू परिचालन गरिनेछ । उनीहरूले हरेकलाई औषधि खुवाउने छन् । यो औषधि ६ पटकसम्म सेवन गरेमा हात्तीपाइलेको संक्रमणबाट बच्न सकिने भन्दै कार्यालयले औषधि सेवन गर्न सबैलाई आग्रह गरेको छ । कार्यालयका अनुसार यसपटक सुर्खेतका तीन लाख ६४ हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ । कार्यक्रममा हात्तीपाइले रोगको बारेमा जानकारी दिदैं जिल्ला स्वास्थ्य कार्यालयका उदय बिसीले रोग नियन्त्रणका लागि यो अभियान सञ्चालन गर्न लागिएको बताए । सुर्खेतमा १८ प्रतिशतलाई हात्तीपाइलेको संक्रमण भएको समेत उनले जानकारी दिए । उनका अनुसार सुर्खेतमा २०६८ सालबाट यो औषधि खुवाउन सुरु गरिएको हो । अघिल्लो वर्ष जिल्लामा दुई लाख ८६ हजार जनाले यो औषधि खाएका थिए । यो वर्ष जिल्लाका ७५ हजार घरधुरीमा पुगेर औषधी खुवाइने छ ।
जिल्लाभरका गाविस तथा नगरपालिकाहरूमा हात्तीपाइले रोगविरुद्धको औषधि स्वास्थ्यकर्मी र स्वयम्सेवकमार्फत् खुवाइनेछ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती, सात दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी र छारे रोगका विरामीहरूले हात्तीपाइलेको औषधी खान नहुने बताए । उनले सन् २०१७  सम्ममा सुर्खेतलाई हात्तीपाइले रोगको संक्रमणबाट १ प्रतिशतमा झार्ने लक्ष्य लिएको बताए । साथै उनले यो औषधिको बारेमा विगतमा गलत हल्ला फैलाइएको भन्दै ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका बसन्त श्रेष्ठ, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका चेतननीधि वाग्लेलगायत पत्रकारहरूको समेत सहभागिता रहेको थियो । 
यसैगरी दैलेखमा फागुन २९ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दैलेखले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार फागुन २९, ३० र चैत्र १ गते जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइनेछ । 
अभियान सफल बनाउन ४० घरधुरी बराबर १ जना सहजकर्ता परिचालन गरिएको कार्यालयले जनाएको छ । जिल्लाका ६० हजार घरधुरीका सबै नागरिकलाई औषधि खुवाउने लक्ष्य कार्यालयले लिएको छ । जिल्लामा यो अभियान चौथो पटक सञ्चालन गरिएको हो ।
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:२५