लगाममा गाउँनै थला प¥यो

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन ।
पहिचान नभएको रोगका कारण पश्चिम सुर्खेतको लगाममा दुई जनाको ज्यान गएको छ । यस्तै हरेक घरका सदस्यहरू बिरामी भएपछि त्यहाँको एउटा सिङ्गो गाउँनै थला परेको छ । करिब १५ दिन अघिदेखि गाउँमा संक्रमण फैलिएको भए पनि विकट भएका कारण ढिला मात्र जानकारी बाहिर आएको हो ।
लगाम गाविसको वडा नं. ५ तालागाउँमा फैलिएको संक्रमणका कारण स्थानीय ७५ वर्षका मानसिं साँवद र ५८ वर्षका खड्कबहादुर साँवदको ज्यान गएको छ । संक्रमणका कारण थला परेका उनीहरू दुवै जनाको मंगलवार साँझ उपचार नपाएरै ज्यान गएको हो । यस्तै अहिले गाउँका दर्जनौं व्यक्तिहरू बिरामी भएर थला परेको स्थानीय समजी प्राविका प्रधानाध्यापक तोजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बिरामीहरूमा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्ता लक्षणहरू देखिएका छन् । संक्रमणका कारण गाउँ नै थला परेको भए पनि अहिलेसम्म त्यहाँ स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्थानीयले आफूसँग उपलब्ध भएको सिटामोल खाएर रोगसँग लडिरहेका छन् । 
प्रभावित गाउँमा करिब ५८ वटा घरहरू छन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट दुई दिनको पैदल दूरीमा रहेको उक्त गाउँ अछाम र डोटीको सीमानासँग जोडिएको छ । जसले गर्दा बिरामीहरू स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन् भने त्यहाँबाट गाविसमा रहेको स्वास्थ्यचौकीमा पुग्न पनि ५ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । उपचारका लागि बाहिर लैजान समस्या भएको भन्दै प्रधानाध्यापक खड्काले गाउँका हरेक घरमा बिरामी भएकाले थप कठिनाइ भएको बताए । उनले पूरा गाउँनै थला परेको भन्दै तत्काल गाउँमै औषधि र स्वास्थ्यकर्मीको व्यवस्था नभए महामारी फैलने आशंका व्यक्त गरे । संक्रमणका कारण गाउँ नै थला परेपछि विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्तै अर्का शिक्षक देवबहादुर साँवदले १५ दिनदेखि रोगको संक्रमण भए पनि स्थानीयले सामान्य रुघाखोकी भन्दै उपचारमा ध्यान नदिदा गाउँ नै थला परेको बताए ।
 गाउँका सबै जसो एकाएक बिरामी हुन थालेपछि स्थानीयले सिटामोल खाएका थिए । तर, सिटामोलले समेत काम नगरेको र बिरामीहरूको ज्यान नै जान थालेको भन्दै शिक्षक खड्काले डाक्टर र औषधिको व्यवस्था गरीदिन आग्रह गरे । उनले टेलिफोनमार्फत् भने, ‘अहिले गाउँनै थला परेको छ, हरेक घरमा तीनदेखि चारजनासम्म बिरामी परेका छन् । स्वास्थ्यचौकी पुग्न पाँच घण्टा पैदल हिँड्नुपर्छ, हामीसँग खल्तीमा भएको सिटामोल पनि सकियो ।’ गाउँमा औषधि र स्वास्थ्यकर्मी नभएपछि स्थानीयले महामारी फैलिन सक्ने भन्दै तत्काल स्वास्थ्यकर्मी पठाउन हारगुहार गरेका छन् । संक्रमणका कारण बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन् । हरेक घरमा बिरामीहरू भएका कारण अहिले बिरामीलाई स्याहार गर्न समेत समस्या भएको छ । गाउँमा भएको सिटामोल पनि सकिएको र नजिक मेडिकल समेत नभएकाले बिरामीले उपचार पाउन नसकेको स्थानीय शिक्षक देवबहादुर साँवदले जनाए । 
यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले संक्रमणको बारेमा बुधवार मात्र जानकारी प्राप्त भएको जनाएको छ । संक्रमणको बारेमा जानकारी पाए लगत्तै बुधवार नै प्रभावित क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी पठाइएको कार्यालयको भनाइ छ । कार्यालयका प्रमुख बसन्त अधिकारीले भने, ‘हामीले बिरामीमा भाइरल ज्वरोको अनुमान गरेका छौं, त्यही अनुसार नै औषधि पठाइएको छ । बाँकी ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिन्छ ।’ प्रभावित क्षेत्र विकटमा भएकाले स्वास्थ्यकर्मीहरू बुधवार हिँडेको भए पनि आज (बिहीवार) मात्र त्यहाँ पुग्नेछन् । यस्तै थप स्वास्थ्यकर्मी र औषधि बिहीवार पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः   २७ फाल्गुन २०७२, बिहीबार ११:२७