फूलमा परनिर्भर

बजारभरी रेडिमेट माला, स्थानीय फूलको प्रयोग घट्दो

सुर्खेत – तिहार नजिकिँदै छ । यो पर्वमा माला लगाउने चलन छ । यसबेला फूलको माग ह्वातै बढ्छ । पहिले दसैँ–तिहारको समयमा सबैका घर–आँगनमा विभिन्न जातका फूल फूलेर ढकमक्क हुन्थे । तिहार तथा अन्य पूजाआजा र सामाजिक संस्कारहरूका लागि फूल आफ्नै करेसाबारीमा पर्याप्त हुन्थ्यो । पछिल्लो समय गाउँघरमा समेत फूल लगाउने चलन छुट्दै गएको छ । चाडपर्वमा बाहिरबाट आयात गरिएका मालाको प्रयोग बर्सेनि बढ्दो छ । केही वर्षयता स्थानीय स्तरमा हुने मखमली, सयपत्री, बामरी र गोदावरी जस्ता फूल लोप हुँदै गएका छन् । तिहारका लागि आफ्नै आँगनमा फूल तयार हुनुपर्नेमा बजारका बेच्न झुन्ड्याइएका मालाको भर पर्नुपर्ने बाध्यता छ ।

केही वर्ष पहिलेसम्म घर–आँगनपच्छिे ढकमक्क फूल्ने मखमली, सयपत्री, बामरी र गोदावरी जस्ता फूल लोप हुँदै गएका छन्।

यतिबेला तिहारका लागि बजारमा रेडिमेट मालाहरू सजाइएका छन् । ति मालालाई ८० देखि तीनसय रूपैयाँसम्म पर्छ । वीरेन्द्रनगर बजारमा मात्रै तिहारको सिजनमा मालाको लाखौं रूपैयाँको कारोबार हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई माला लगाइदिने चलन छ । यो चाडमा माला अनिवार्यजस्तै मानिन्छ । विगतका वर्षहरूमा गाउँमै ढकमक्क फुलेका फूलबाट माला उनेर लगाउने गरिन्थ्यो । पछिल्लो समय बजारमा किन्न पाइने भएपछि स्थानीय रूपमा हुने फूलको महत्व घट्दै गएको छ । स्थानीय फूलको माग राम्रै भए पनि उत्पादन न्यून छ । जसले गर्दा कृत्रिम फूलबाट बनाइएका मालाको प्रयोग बढेको हो । स्थानीयस्तरमा उत्पादन हुने विभिन्न थरिका फूल संकटमा पर्दै गएको पुष्प व्यवसायीहरू बताउँछन् ।

नजिकिँदो तिहारलाई लक्षित गरी बजारमा प्लाष्टिकबाट बनेका थरिथरिका माला भित्रिसकेका छन् । ‘कर्णाली फूलमा आत्मनिर्भर छैन,’ वीरेन्द्रनगर–८ स्थित बस्नेत नर्सरी सञ्चालन गर्दै आएका नवराज बस्नेतले भने, ‘यहाँ माग अनुसारको फूल उत्पादन हुँदैन ।’ उनले कर्णालीका धेरैजसो जिल्ला फूल उत्पादन गर्न छोडिएको जनाए । ‘अहिले घर–आँगनमा फूल लगाउने चलन हराएको छ । केहीले भने यसलाई व्यावसायिक रूपमा पनि गरेका छन्,’ उनी भन्छन्, ‘माग धेरै हुँदा पुर्‍याउन सक्ने अवस्था छैन ।’ नर्सरी र पुष्प व्यवसायलाई प्रोत्साहन गर्ने नीति नहुँदा पनि पुष्प व्यवसाय फस्टाउन नसकेको उनको भनाइ छ ।

कृषि विज्ञहरूका अनुसार कर्णालीका अधिकांश जिल्लामा फूल खेती गर्न सकिन्छ । त्यसका लागि यहाँको वातावरण उपयुक्त छ । तर, फूल उत्पादन गरेर निर्यात गर्नुपर्ने कर्णाली आफैँ आयात गर्छ । जब कि नेपाली समाजमा फूलको प्रयोग हरेक संस्कारमा आवश्यक पर्छ । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतिक तथा वातावरणको संरक्षक मानिए पनि आयातित मालाले स्थानीय फूलको महत्व भुलाइदिएको छ । जस्तो खोज्यो उस्तै पाइँने र बजारबाट किनेर ल्याउन सहज हुने भएपछि यस्ता मालामा आकर्षण बढेको हो ।

बजारमा पाइने मालाको बढ्दो प्रयोगले फूलको अस्तित्व संकटमा पर्ने देखिएको छ । बजार माला पाइन थालेपछि स्थानीय फूल संकटमा परेको वीरेन्द्रनगर–६ कि बेञ्जु थापाले बताइन् । उनी भन्छिन्, ‘अहिले बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुँदैन । कृत्रिम फूलकै महङ्गो माला खोज्ने गरिन्छ ।’ व्यवसायीहरूले कृत्रिम माला मात्र होइन तिहारका बेला हरेक वर्ष भारतबाट सयपत्रीलगायतका फूल समेत आयात गर्दै आएका छन् । स्थानीय उत्पादन नहुँदा बाहिरबाटै खरिद गरेर बिक्री गर्ने गरिएको उनीहरू बताउँछन् । वीरेन्द्रनगर बजारमा कृत्रिम मालाको व्यवसाय गर्दै आएका एक व्यवसायीले बजार क्षेत्रका बासिन्दाले मात्र नभइ गाउँबाट समेत फूल तथा कृत्रिम माला किन्न आउनेको संख्या ठूलो रहेको बताए । फूलका मालाको सट्टा कृत्रिम फूलबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्दै गएका हुन् । गाउँघरमै प्रशस्त मात्रामा फूल नपाइनु तथा फूलको खेती समेत नगर्नुले कृत्रिम माला खोज्ने गरिएको हो ।

स्थानीय जातका फूलको बजार राम्रो देखेपछि पछिल्लो समय कतिपयले यसको व्यावसायिक खेती थालेका छन् । वीरेन्द्रनगर–३ का इन्द्रजीत सुनारले साढे तीन कट्ठा जमिनमा फूल खेती गरेका छन् । प्रदेशभित्रका जिल्ला र बाहिरबाट पनि फूलको माग हुने गरेको उनी बताउँछन् । ‘फूलको माग धेरै भएकाले खेती नै सुरू गरेको हुँ,’ उनले भने । इन्द्रजीतले यही वर्षबाट फूल खेती सुरू गरेका हुन् । उनको व्यावसायीक बगैंचामा फूल ढकमक्क फूलेका छन् ।

प्रकाशित मितिः   १२ कार्तिक २०७८, शुक्रबार ०५:००