सुर्खेत–काठमाडौं हवाई सेवा थपिँदै
सुर्खेत–काठमाडौं उडानका लागि अब अर्को निजी वायु सेवा कम्पनी पनि सञ्चालन हुने भएको छ । हाल बुद्ध एयरलाइन्सले मात्र नियमित उडान भर्दै आएको छ । गुण एयरलाइन्सले अबको दुई साताभित्र काठमाडौं–सुर्खेत नियमित उडान भर्ने जनाएको हो ।
एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले त्यसअघि परीक्षण उडान अनिवार्य भएकोले आगामी सातामा परीक्षण उडान गर्न लागिएको बताए । परीक्षण उडानको तयारी भइरहेको उनले जनाए । थापाका अनुसार ३० सिट क्षमताको जहाजले नियमित हवाई सेवा दिन लागिएको छ । यो एयरलाइन्ससँग सात वटा जहाज छन् । गुणले सुर्खेत–काठमाडौं भाडादर भने तोकिसकेको छैन ।
अहिले सुर्खेत–काठमाडौं हवाई सेवा महँगो छ । बुद्धले हाल सुर्खेत–काठमाडौं उडान भाडा प्रति यात्रु आठ हजार एक सय २५, नौ हजार एक सय २५ र ११ हजार कायम गरेको छ । अर्को एयरलाइन्सले पनि सेवा दिने भएपछि भाडादर घट्ने अपेक्षा यात्रुहरूको छ । यसअघि अरु केही कम्पनीले परीक्षण उडान गरेका थिए । उनीहरूले नियमित सेवा भने दिएनन् । विगतमा श्री एयरलाइन्सले ठूलो सिट क्षमताको जहाजको परीक्षण उडान सफल गरेर पनि नियमित उडान भने गरेन । हवाई सेवा पर्याप्त, भरपर्दो र नियमित नहुँदा कर्णालीका अधिकांश जिल्लाबाट नेपालगञ्ज विमानस्थल भएर काठमाडौं जानुपर्ने बाध्यता छ । जसका कारण यहाँका यात्रुहरू मर्कामा छन् ।
प्रकाशित मितिः १२ कार्तिक २०७८, शुक्रबार ०५:०४
साझा बिसौनी ।