काँक्रेविहार गोल्डकप : चिङ्गाड र चौकुने भिड्दै, पहिलो सेमिफाइनल पनि आजै

सुर्खेत – काँक्रेविहार गोल्डकपमा आज समूह चरणको अन्तिम खेल हुँदैछ ।  दिउँसो १ बजे सुर्खेत रङ्गशालामा चिङ्गाडले चौकुने गाउँपालिकाको सामना गर्नेछ ।

विजेता टिम सेमिफाइनल पुग्ने छ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि वीरेन्द्रनगर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । बिहीवार सिम्ता गाउँपालिकालाई २-० गोलअन्तरले हराउँदै वीरेन्द्रनगर सेमिफाइनल पुगिसकेको छ ।

सेमिफाइनल खेल्ने अन्य २ टोलीको पनि यसअघि नै टुङ्गो लागिसकेको छ । बिहीवार नै बराहताल गाउँपालिकालाई पराजित गर्दै भेरीगङ्गा नगरपालिका र त्यसअघि बुधवार उद्घाटन खेलमा गुर्भाकोटलाई पराजित गर्दै पञ्चपुरी नगरपालिकाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

आयोजक काँक्रेविहार युवा क्लबका अनुसार पहिलो सेमिफाइनल खेल आजै दिउँसो ३ बजे हुनेछ । फाइनल प्रवेशका लागि पञ्चपुरी र भेरीगंगाबीच आज प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनल भने शनिवार हुनेछ । फाइनल आइतवार हुने काँक्रेविहार युवा क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   १२ कार्तिक २०७८, शुक्रबार ०९:५२