बागमतीको मुख्यमन्त्रीमा पाण्डे

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीवार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पाण्डेसँग कांग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएकी थिइन् ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १७:४०