हट्यो पानीको दुःख

तिला नदीबाट लिफ्ट प्रविधिमार्फत एक मिलोमिटर माथि पानी ल्याइएको छ । पुस्तौंदेखि खानेपानीको सास्ती खेप्दै आएका बाइराँकाका एक सय ४० घरधुरी लाभान्वित भएका छन् ।

मानबहादुर कुँवर

जुम्लाः  तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । पानीको हाहाकार हुँदा तीन दशकदेखि गाउँ नै काकाकुल थियो । बाइराँकामा लिफ्टमार्फत खानेपानी पु¥याइको हो । यसअघि एक सय ४० घरधुरी भएको बाइराँकामा एक मात्र धारो थियो । प्रत्येक घरलाई चार दिनको एक पटक पानी भर्ने पालो बाँडिएको थियो । ‘गाउँभरी खानेपानीको एउटै धारा थियो, चार दिनको एक पटक पालो आउँथ्यो, त्यसमा पनि २० लिटर मात्रै पानी भर्ने नियम बनाइँदा पानीका निकै दुःख थिए,’ स्थानीय जोखबहादुर शाहीले भने ।

अहिले बस्तीको सिरानमा २० हजार लिटरको रिर्जव ट्याङ्की बनाइएको छ । टोलैपिच्छे धारा जडान गरिएका छन् । घर घरमा धारा पु¥याउने लक्ष्य लिइएको छ । बाइराँका बासीले यतिबेला पर्याप्त खानेपानीको सुविधा पाइरहेका हुन् । स्थानीय बिमला शाहीले गाउँ छेवैमा तिला नदी बगेपनि पानी पिउन योग्य नहुँदा वर्षाैंदेखि समस्या झेल्दै आएको बताइन् । ‘अब पानीका दुःख हटे,’ उनले भनिन्, ‘सहज रुपमा पानी पाइने भयो ।’ घरनजिकै धारामा पानी आउँदा उनी दंग छिन् । यसअघि तिला नदीको दुषित पानीले प्यास मेट्ने गरेको उनले बताइन् ।

उक्त गाउँमा खानेपानी जोहो गर्नकै लागी विद्यार्थिको पढाइ समेत प्रभावित हुने गरेको थियो । बिहान र बेलुकाको समयमा विद्यार्थिलाई गाग्री बोकेर नदीमा पानी ओसार्न पुग्नु पर्ने बाध्यता थियो । गाउँमा पानी पुगेपछि बालबालिकाले त्यो समय पढाइमा लगाउन पाएका छन् । ‘पानी ओसार्दै विद्यालय जान छुट्थ्यो, आजभोली सरसफाइमा गर्न पनि सहज भएको छ,’ विद्यार्थी कमला शाहीले भनिन् । बाइराँकामा सिंचाइ र वस्तुभाउका लागी झनै पानीको संकट थियो । लिफ्ट एरिकेसनमार्फत पानी पुगेपछि तरकारी बारीमा सिंचाइ गर्न तथा वस्तुभाउलाई पानी दिन सजिलो भएको हो । अहिले बाइराँका सबै घरधुरीसहित स्थानीय एक विद्यालयले पनि यहीँ खानेपानी उपभोग गरिरहेको छ ।

करिब आठ वर्ष अगाडी बाट सुरू भएको खानेपानी आयोजना अलपत्र परेको थियो । खानेपानीकै लागि बाइराँकाका स्थानीयले रित्तो गाग्री बोकेर सदरमुकाममा आन्दोलन समेत गरेका थिए । प्रदेश सरकारको २० लाख बजेटमा तिला नदीबाट झन्डै एक किलोमिटर माथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए । यो वर्ष मात्रै गाउँमा खानेपानी पुयाउन सफल भएको उनले बताए । क्रमश घरघरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १३:०६