बागमतीमा आजै नयाँ सरकार

काठमाडौं – बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन् ।

पाण्डेसँगै तीन मन्त्रीले आजै शपथ लिने भएका छन् । गठबन्धनमा सम्मिलित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक-एक जना मन्त्री बन्ने भएका हुन् ।

एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, कांग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिने भएका हुन् । उनीहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।

प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएकी थिइन् ।

शाक्यको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीवार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसलगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार ११:१५