साझा संवाद

‘कर्णालीको नेतृत्व कांग्रेसले पाउनु पर्छ’

यतिबेला कर्णालीको सत्ता राजनीतिमा मुख्यमन्त्री फेरबदल हुने चर्चा चुलिएको छ । सोही सन्दर्भमा सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) को साथ कसलाई रहन्छ, यसबारे पार्टीको धारणा के छ लगायतका विषयमा उक्त पार्टीका कर्णाली प्रदेश अध्यक्ष एवम् कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापासँग साझा बिसौनी संवाददाता रजनी योगीले गरेको कुराकानी :

अबको केही दिनमा कर्णालीमा मुख्यमन्त्री फेरबदल हुने चर्चा छ । कांग्रेसले गरेको दाबी अनुसार जीवनबहादुर शाही मुख्यमन्त्री बन्लान् ?

पहिलाको सहमति हो, यो । त्यसअनुसार जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुपर्ने हो । अहिले परिस्थिति फेरिएको छ । समीकरण बदलिएको छ । यसो गरिए संघीय गठबन्धनको के अवस्था आउँला ? कांग्रेस, माओवादी, समाजवादी र मधेशवादी दलहरूको बिचमा तालमेल भइराखेको छ ।

एउटा प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनिसक्यो । माओवादीले तीन प्रदेशमा नेतृत्व गरेको छ । अहिले समाजवादीले एक नम्बर र वागमति लिने भन्ने छ । कांग्रेसले सुदुरपश्चिम लिने भन्ने कुराको टुङ्गो केन्द्रबाटै नआएसम्म चाहीँ भन्न सकिने अवस्था छैन । कांग्रेसले कर्णाली लिने भयो भने मात्रै जीवनबहादुुर शाही मुख्यमन्त्री बन्ने हुन् । यदि कांग्रेसले अर्को ठाउँ रोज्यो भने दुुई वटा प्रदेश त माओवादीलाई दिनुपर्ने होला । माथिकै गठबन्धनले जे भन्छ हामीले मान्नु पर्ने हुन्छ भने अर्कोतिर गठबन्धनले दायाँ–बायाँ गर्ने कुरा पनि भएन । एउटा दललाई तीन र अर्कोलाई दुई त हुँदैन । केन्द्रमा भएको सहमतिअनुसार नै कर्णालीको राजनीति अघि बढ्छ ।

नेतृत्वमा आलोपालो गर्ने कांग्रेस र माओवादीको लिखित सहमति तपाईंहरूसहित गरिएको हो ?

त्यसमा सहमति भएको हो । जतिबेला केन्द्रमा अहिलेको जस्तो गठबन्धन बनेको थिएन । लिखित तथा मौखिक सहमति हाम्रै रोहवरमा भएको हो । र, ६ महिनापछि हाम्रो कार्यकाल सकिने बित्तिकै कांग्रेसलाई मुुख्यमन्त्री दिने कुरा थियो । त्यो सहमतिपछि केन्द्रमा अर्को गठबन्धन बन्यो । गठबन्धनले के भन्छ, त्यो अहिले नै भन्न सकिने अवस्था छैन । माओवादीको अहिले तीन वटा प्रदेशमा मुख्यमन्त्री छन् । उसले एक ठाउँमा छोड्नै पर्छ । हाम्रो दबाब चाहीँ कर्णाली नै छोड्नुपर्छ भन्ने हो । अबको राजनीति यही कोर्षका आधारमा अगाडी बढ्छ ।

कांग्रेस र माओवादीबीच नेतृत्व हस्तान्तरणका विषयमा मतान्तर बढ्दै गएको छ । यस्तो अवस्थामा सत्ता साझेर एकीकृत समाजवादीको खास धारणा के हो ?

म त खासै मतान्तर देख्दिनँ । बाहिर चर्चामा आएको जस्तो अवस्था होइन । कहिलेकसो मिडियामा जीवनबहादुर शाहीले पनि अबको मुुख्यमन्त्री म नै हो भन्ने गर्नुभएको छ । त्यसले गर्दा विवाद जस्तो देखिएको मात्र हो । एकीकृत समाजवादीले सहमतिअनुसार नै सत्ता राजनीति अघि बढ्ने विश्वास गरेको छ ।

महेन्द्रबहादुर शाहीले म छोड्दै छोड्दिन पनि भनेका छैनन् । त्यसकारणले त्यति ठूलो समस्या छैन । केन्द्रको निर्णय मानेरै अघि बढ्नुपर्ने अवस्था अहिले छ । माथिको निर्देशन नआउने बेलासम्मका लागि मात्रै यस्ता चर्चा भइरहेका हुन् । अहिले मैले कता–कता सुुनेको छु, प्रधानमन्त्री ज्यूले सुदूरपश्चिम कांग्रेसलाई दिनु प¥यो भन्ने छलफल गरिरहनु भएको छ रे । यो नेताहरूबाट सुन्नमा आएको कुरा हो, आधिकारिक भने होइन ।

पछिल्ला घटनाक्रमले कर्णालीको सत्ता राजनीतिमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?

त्यस्तो ठूलै प्रभाव परिहाल्ने मैले ठानेको छैन । यो सबै हल्ला मात्र हो । सहमति, सहकार्य र गठबन्धनले के निर्णय गर्छ त्यसको आधारमा कर्णाली अगाडी बढ्छ ।

माओवादीले महेन्द्रबहादुर शाहीकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । यसमा समाजवादीको साथ रहन्छ ?

त्यो उहाँहरूको पार्टीको निर्णय होला । त्यसमा हाम्रो साथ रहन्न । हाम्रो साथ केन्द्रमा हुने सहमतिका आधारमा हुन्छ । केन्द्रदेखि तलसम्मको गठबन्धनले जे भन्छ त्यो कुुरामा हामी अघि बढ्ने हो । केन्द्रबाट आउने निर्देशनले कसैलाई मर्का पर्दैन । त्यही अनुसार गर्नु उपयुक्त हुन्छ ।

नेतृत्व नपाए कांग्रेसले सरकारको समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ । यदि यस्तो अवस्था आए तपाईंहरूको भूमिका के हुन्छ ?

यो अवस्था सिर्जना हुनै सक्दैन । कांग्रेसले त्यस्तो चेतावनी दिएको जस्तो पनि लाग्दैन । एउटा कुुरा के हो भने हाम्रो ६ महिना पुुग्नासाथ जीवनबहादुुर शाही मुुख्यमन्त्री बन्ने भन्ने सहमति भएको हो । पहिला त साउनमा परिवर्तन गर्ने भन्ने थियो । साउनमा परिवर्तन भन्ने कुुरामा त मुुख्यमन्त्री पनि राजी हुुनुुहुुन्थ्यो । त्यतिबेला हामीले रोकेको हो ।

सत्ता घटक दलबीच विवाद बढ्दै गए कर्णालीमा एमाले र कांग्रेसको सहकार्यमा सरकार बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

यो केन्द्रदेखि तलसम्मको गठबन्धन नै तोड्ने गरेर कर्णाली जान सक्छ र ? त्यसो भए त शेरबहादुर देउवा सरकार पनि ढल्ला नि । यो अनावश्यक चर्चा मात्र हो, अरु केही होइन । हाम्रो दबाब भनेको अब कर्णाली प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनुपर्छ भन्ने नै हो । त्यो सहमतिका आधारमा हुुनुुपर्छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार ०९:३३