रैथाने बाली संरक्षण

विकासका दृष्टिले कर्णाली प्रदेश जति पछि परेको छ, त्योभन्दा बढी समृद्ध पनि छ । भौगोलिक अवस्थितिलाई छोड्ने हो भने यहाँको हावापानीदेखि माटो र वनस्पतीसम्मको मूल्य नै अमूल्य छ । यो नै कर्णालीको मूल निधि हो । सम्पत्ति हो । यहाँ भौगोलिक विविधता हो । भौगोलिक विविधताअनुसार हावापानीमा विविधता छ । माटोको सर्वराशक्तिमा विविधता छ । ठाउँअनुसार अनेक बाली र वनस्पती उत्पादन हुन्छन् । तर यसको संरक्षण र सदुपयोगमा भने प्रदेश पछि परेको छ । उपयोग गर्न नसक्दा गरिबीको रेखामूनि बस्नु कर्णालीको विडम्बना हो । कर्णाली प्रदेशमा राम्रो उत्पादन हुने फापर, जौं, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, कालो र रातो मार्सी धान, सिमी, गहत र मास लगायतका अन्नबालीको उत्पादनमा बर्सेनि कमी आउँदै गएको छ । परम्परागत बालीबाट उत्पादन न्यून हुन थालेपछि भोकमरीको समस्या समेत बढ्दो छ । कृषकले रैथाने बाली लगाउन छोड्दा उत्पादनमा कमी हुँदै परनिर्भरता बढेको छ ।

आजको कर्णाली खाद्य संकट झेलिरहेको छ । बाहिरबाट आयातित खाद्यन्नमा निर्भर हुनुपरिरहेको छ । तर आफ्नै माटोमा फल्ने उपयोगी बाली भने लोपोन्मुख हुँदैछन् । यहाँका रैथाने बाली हराउँदै गएका छन् । विगतमा रैथाने बालीको उत्पादन धेरै हुन्थ्यो । कृषकको आकर्षण पनि उत्तिकै थियो । कर्णाली प्रदेशमा अधिकांश रैथाने बाली लोपोन्मुख अवस्थामा छन् । परम्परागत बालीप्रतिको घट्दो आकर्षणले कतिपय लोप भइसकेका छन् । पछिल्लो समय ती बालीहरू कमै मात्र उत्पादन हुन्छन् । कृषकहरूले पुराना बाली लगाउन छोडेका हुन् । कृषककै अरुचिका कारण खाद्य सुरक्षा र पोषणका दृष्टिले महत्वपूर्ण मानिने बालीको संरक्षण हुन नसकेको हो । पछिल्लो समय कृषकहरूले परम्परागत अन्नबाली उत्पादनमा जोड नदिँदा ग्रामीण भेकका धेरै स्थानमा जमिन बाँझै रहने गरेका छन् । खेती गर्नभन्दा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या अधिक छन् । युवा जनशक्तिलाई कृषि पेसामा आबद्ध गराउने आवश्यक नीति र कार्यक्रमको अभावमा परम्परागत खेती लोप हुँदै गएको हो । स्थानीयस्तरमा उत्पादन हुने अन्नबालीको संरक्षण, विकास र उत्पादनतर्फ ध्यान नजाँदा कर्णालीको अर्थतन्त्र समेत परनिर्भर बनेको छ ।

रैथाने बाली लोप हुन थालेपछि संरक्षणका लागि प्रयास भने भइरहेका छन् । कर्णालीका सात जिल्लामा अहिले रैथाने बाली संरक्षणको कार्यक्रम सञ्चालन गरिएको छ । यी जिल्लाहरूमा संघीय सरकारको विशेष अनुदानबाट १५ लाख विनियोजन गरिएको छ । प्रदेशका सुर्खेत, सल्यान र रूकुम–पश्चिमबाहेकका जिल्लामा विशेष अनुदानमार्फत कार्यक्रम कार्यान्वयन भइरहेको छ । पुराना बाली जोगाउन प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, त्यस्ता कार्यक्रम भने प्रभावकारी बन्न सकेका छैनन् । पुराना बाली प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाभर यस्तो कार्यक्रम सुरू गरिएको हो । रैथाने बाली लोप हुने अवस्थामा पुग्नुको मुख्य कारण त्यस्ता अन्नबालीको महत्व नबुझ्नु नै हो । चेतनाको अभावका कारणले धेरै कृषकहरूले यी बाली लगाउन छोडेको छन् ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार ०९:२०