मुख्यमन्त्रीमा पाण्डेको दाबी

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डेले दाबी गरेका छन् । ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पत्र बुझाएका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कार्तिक ११ गते दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए । पाण्डेले भने बुधवार नै दाबी पत्र दर्ता गराएका हुन् ।

प्रकाशित मितिः   १० कार्तिक २०७८, बुधबार १८:२०