बागमतीकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
काठमाडौं- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।
प्रदेशसभामा उनले कार्तिक ४ गते टेबल गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमा आज मतविभाजन हुने कार्यसूचि थियो । सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसकेको छ । तर विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। शाक्य भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् ।
प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । तीन मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताएको छ ।
प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी एक सय नौ सदस्य छन् ।
नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । विपक्षी गठबन्धनको पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । शाक्य अल्पमतमा परेसँगै बागमतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु गरेको थियो ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १४:३१
साझा बिसौनी ।