एमाले अधिवेशनः नेतृत्वमा युवाको वर्चस्व

सुर्खेत: नेकपा (एमाले)ले पार्टीका तल्लो तहका कमिटीहरूमा नेतृत्व चयन गरिरहेको छ । मंसिर १० देखि १२ गतेसम्म १०औँ महाधिवेशन गर्न लागेको एमाले आन्तरिक अधिवेशनमा होमिएको हो । कार्तिक ६ देखि आधारभूत तहका अधिवेशन सुरू भएका छन् । अहिले वडा र पालिकामा नेतृत्व छनोट भइरहेकाे छ । देशभर एक साथ स्थानीय कमिटीहरूमा अधिवेशन थालेको एमालेले अधिकांश ठाउँमा युवाहरूलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।
सुर्खेतमा मंगलवार वडा अधिवेशन सम्पन्न भएका छन् । यहाँका नौ पालिकाका ९९ वडामध्ये धेरैजसोमा युवापुस्ता नेतृत्वमा आएका छन् । वडा कमिटीमा चुनिएका अध्यक्ष तथा पदाधिकारीमा युवाहरूको पकड देखिएको हो । वीरेन्द्रनगरका १६ वटै वडामा युवाहरूको वर्चश्वसहित सर्वसम्मत कमिटी बनेका छन् । नगरको वडा नम्बर १ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्कबहादुर दर्लामी र ८ मा देवी पौडेल अध्यक्षमा चुनिएका छन् ।
यस्तै, वडा नम्बर ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही, ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणि चपाईं, १३ मा वासुदेव पौडेल, १४ मा नवराज रोकाय, १५ मा हिक्मत वली र १६ मा भूपेन्द्र ज्ञवाली अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष छानिएका धेरैजसो युवा उमेर समूहका छन् । वीरेन्द्रनगरका १४ वडामा पुरुषले नेतृत्व पाएका छन् भने दुई वटामा महिला अध्यक्ष बनेका हुन् ।
एमाले जिल्ला तहका नेताहरूका अनुसार सुर्खेतमा अहिले पुराना पुस्ताले युवालाई सहजै जिम्मेवारी हस्तान्तरण गरिरहेका छन् । जसले गर्दा कार्यसमितिमा पदाधिकारी र प्रतिनिधि छानिने युवाको संख्या बढेको छ । एमाले सुर्खेतले यहीँ कार्तिक १५ गते पालिका अधिवेशन गर्ने जनाएको छ । सुर्खेत, दैलेख र जुम्लाबाहेक कर्णाली प्रदेशका अन्य जिल्लामा कार्तिक ६ गते नै वडा अधिवेशन सम्पन्न गरिएका थिए । ती अधिवेशनबाट पनि स्थानीय तहका कमिटीमा एमालेका युवा पंक्ति नेतृत्वमा चुनिएका हुन् । एमालेका विगतका अधिवेशनहरूको तुलनामा यसपटक नेतृत्वका लागि युवाहरूको आकर्षण देखिएको हो ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १३:५५
साझा बिसौनी ।