बागमतीमा मुख्यमन्त्रीको छिनोफानो आज
काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछिन् । विश्वासको मतसम्बन्धि प्रस्तावमा मतविभाजनका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मतदान गरिने छ ।
मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
कार्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । सोही बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । आज मतविभाजनसँगै मुख्यमन्त्री शाक्यको निरन्तरता वा बहिर्गमनको टुङ्गो लाग्ने छ ।
शाक्यले विश्वासको मत पाउने अवस्था भने छैन । प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी एक सय ९ सदस्य छन् ।
कांग्रेस-माओवादी-एकीकृत समाजवादीसहितको गठबन्धनकातर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । उनी नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का नेता हुन् ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार १०:३९
साझा बिसौनी ।