मानव बेचबिखनविरुद्ध कार्ययोजना
कार्तिक महिनाभित्र जिल्लाका नौ वटै पालिकामा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ ।
मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध कार्ययोजना बनाइएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ–संस्थाहरूको सक्रियतामा कार्ययोजना तयार गरिएको हो ।
गत असोजमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल संयोजक रहेको मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको समितिले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा कार्ययोजना कार्यदल गठन गरेको थियो ।
कार्ययोजना अनुसार कार्तिक महिनाभित्र जिल्लाका नौ वटै पालिकामा मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ । आगामी मंसिर महिनाभित्र कर्णाली प्रवेश गर्ने नाका बबईमा सोधपुछ तथा अभिलेखीकरण कक्ष स्थापना गर्ने तथा बालबालिका खोजतलास समन्वय केन्द्र गठन गरिने जनाइएको छ । वीरेन्द्रनगरको सिटी बसपार्क तथा भेरीगंगाको छिन्चु बसबिसौनीमा डिजिटल नोटिसबोर्ड राख्ने, जिल्लामा रहेका बालगृहरूको अनुगमन गर्ने, रोजगारीको नाममा विदेशिने क्रमलाई कमी ल्याउने, मानव बेचबिखन तथा ओसार–पसारसम्बन्धी घटनाहरूलाई तथ्याङ्कीकरण गर्ने तथा यसका विरुद्ध सचेतना कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका योजना पनि बनाइएको छ ।
कार्ययोजना जोखिमयुक्त पालिकाहरूका लागि प्रभावकारी हुने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कार्ययोजनाको आधारमा काम गरे मानव बेचबिखन र ओसार–पसारविरुद्ध काम गर्न सहज हुने बताए । उनले जिल्लाका सबै पालिकाहरूलाई कार्तिक महिनाभित्र पालिकास्तरीय समिति गठन गरिसक्न निर्देशनसमेत दिए । सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले गरिबीका कारण विशेषगरी दलित समुदायका महिला र बालबालिकाहरू जोखिममा रहेको उल्लेख गरे । उनले बबई नाकामा सोधपुछ कक्ष स्थापना गरिए बेचबिखनमा नियन्त्रणमा हुने दावी गरे ।
महिला तथा बालबालिकाहरूको क्षेत्रमा कार्यरत आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले सुर्खेतका भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी नगरपालिकाका साथै दैलेख, सल्यान, जाजरकोट र रूकुम–पश्चिम पनि बेचबिखन र ओसार–पसारको जोखिममा रहेको बताइन् । उनले कार्ययोजना अनुसार काम गर्न सकिए केही कमी आउने जिकिर गरिन् ।
प्रकाशित मितिः १० कार्तिक २०७८, बुधबार ०५:०४
साझा बिसौनी ।