लिमीमा खाद्यान्न अभाव

हिमपातले बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी नहुँदा लिमीका हल्जी, जाङ र तिल गाउँमा खाद्य संकट चुलिएको हो ।

हुम्लाः नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न अभाव भएको छ । हुम्लामा  हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । गत सोमवार परेको भारी हिमपातका कारण पाँच हजार उचाइको न्यालुलेकमा झन्डै चार फिटसम्म हिउँ जमेको छ । गाउँपालिकाको केन्द्र यलबाङलाई सदरमुकाम सिमकोट जोड्ने बाटो अवरुद्ध भएको हो । जसका कारण स्थानीयले खरिद गरेको खाद्यान्न बीचमै रोकिएको छ । अधिकांश घरमा चामल सकिएपछि स्थानीयले सरसापटी गरेर खाद्यान्नको जोहो गरेका छन् ।

खाद्यान्न अभाव भएपछि नेपालगन्ज र सुर्खेत बस्दै आएका युवाहरूले करिब ३० क्विन्टल मैदा र घिउ खरिद गरी सिमकोटसम्म पु¥याएका थिए । बाक्लो हिउँ परेकाले गाउँमा खाद्यान्न पु¥याउन नसकिएको स्थानीय युवा कन्चोक तामाङले बताए । उनी भन्छन्, ‘अब त्यहाँ खाद्यान्न पठाउन चार्टर उडानको विकल्प छैन ।’ लिमीका तीन गाउँमा वर्षमा एकपटक मात्र बाली पाक्छ । हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ ।

कोरोना महामारीयता चीनले हिल्सा नाका बन्द गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई वर्षदेखि लिमीमा खाद्यान्न पठाएको छैन । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ गाउँमा चामल नभएपछि खाद्यान्न माग्न केही युवासहित सदरमुकाम सिमकोट आएका छन् । उनका अनुसार चीनले स्थानीयलाई अनुदानमा दिएको खाद्यान्न हिमपातका कारण हिल्सामै रोकिएको छ ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार ११:४४