कांग्रेस महाधिवेशन अझै अनिश्चित

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । पटक–पटक कार्यतालिका फेरबदल गरिएपनि अझैं अनिश्चित बनेको हो । आगामी मंसीरका लागि तय भएको महाधिवेशन कार्यतालिका सातौं पटकसम्म फेरबदल भइसकेको छ ।

आठौं पटक महाधिवेशन सर्ने निश्चित भएपनि नयाँ मितिको टुंगो भने लागेको छैन । निर्धारित समयअनुसार तल्लो तहको अधिवेशन हुन नसकेपछि यसअघि पनि पटक–पटक कार्यतालिका संशोधन गरिएको थियो । भदौ १८ मा निर्धारण गरेको समयमा वडा अधिवेशन एकै समय हुन नसकेपछि किस्ता–किस्तामा गरिएको थियो । प्रदेश २ का ८ जिल्लासहित बाँके, सुर्खेत, रसुवा, डोल्पा र कैलालीको वडा अधिवेशन हुन सकेको छैन । रौतहट, बारा र रसुवाको क्रियाशील सदस्यता अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन ।

२१ वटा हिमाली जिल्लाको अधिवेशन दशैंअघि गरिसक्ने कांग्रेसका शीर्ष नेताको बैठकको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन । हालसम्म १३ जिल्लाको अधिवेशन सकिएको छ । बाँकी आठ जिल्लाको अधिवेशन तिहारअघि गरिसक्ने जनाइएको छ ।

तोकिएको समयमा महाधिवेशन नहुनुलाई संस्थापनइतरले सभापति शेरबहादुर देउवा पक्षलाई दोष लगाएको छ । देउवा पक्षले भने महाधिवेशनको कार्यतालिका निर्वाचन समितिले तय गरे अनुसार हुने बताएको छ ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार ०९:५५