वातावरणमैत्री सहर योजना अलपत्र

जितेन्द्र थापा | सुर्खेत: 

कर्णाली प्रदेश सरकारले दुई वर्षअघि वीरेन्द्रनगरलाई वातावरणमैत्री सहर बनाउने नीति लियो । सरकारको नीति तथा कार्यक्रममा भनिएको थियो, ‘प्रदेश राजधानी सहरलाई धुलो धुवाँमुक्त गरी वातावरणमैत्री बनाइने छ ।’ यतिमात्र होइन इन्धन खपत न्यूनीकरणका लागि अन्य योजना पनि सार्वजनिक गरिएका थिए । सुलभ र सहज विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्ने र सुब्बाकुना–बाङ्गेसिमल साइकल मार्ग निर्माण (साइकलमैत्री सडक) को अवधारणा ल्याइयो ।

सोही वर्षको नीतिमा सरकारले वीरेन्द्रनगरका सडक अपाङ्गतामैत्री बनाउने योजना समेत अघि सारेको थियो । तर, कर्णाली सरकारको उक्त योजनाले दुई वर्षसम्म गति लिएको छैन । सरकारको नीति अनुरूप वातावरणमैत्री कुनै पनि योजना अघि नबढाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वातावरणमैत्री सहर निर्माणको योजनाले सार्थकता पाउन नसकेको जनाएको छ ।

वातावरण अनुकूल बनाउने सरकारले घोषणा गरेका योजनालाई लक्ष्यअनुसार अघि बढाउन नसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव केशवप्रसाद उपाध्याय बताउँछन् । योजनाअन्तर्गत केही समय कार्यालय आवत–जावत गर्न मुख्यमन्त्री कार्यालयकै कर्मचारीले साइकलको प्रयोग गरेका थिए । उपसचिव उपाध्याय भन्छन्, ‘तर, अभियानले निरन्तरता पाउन सकेन ।’ उनका अनुसार साइकल चढ्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान थालिएको थियो । सुलभ रूपमा पाइने, इन्धन खर्च नहुने र वातावरणमा समेत असर नपर्ने भएकाले साइकल चढ्ने अभियान सुरू गरिएको हो । त्यसैअनुसार वि.स. २०७६ साउनमा मुख्यमन्त्री कार्यालयले साढे चार लाख खर्चिएर १० वटा साइकल खरिद ग¥यो । ती साइकल मुख्यमन्त्री कार्यालयका कर्मचारीको प्रयोगका लागि थिए । वातावरणमैत्री सहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले थालेको अभियान केही दिनमै रोकियो । साइकल प्रयोग गर्न छोडियो । जब कि मुख्यमन्त्री कार्यालयबाट सुरू भएको अभियान सबै मन्त्रालयमा कार्यरत कर्मचारीसम्म पुर्‍याउने लक्ष्य लिइएको थियो । त्यसयता सरकारी अधिकारीहरूले नै अभियानप्रति चासो नदिँदा साइकलमैत्री योजना अलपत्र छ ।

त्यस्तै, प्रदेश सरकारले साइकलमैत्री सहर निर्माणको महत्वाकांक्षी कार्यक्रम अहिलेसम्म सुरुआत गर्न सकिरहेको छैन । राजधानीमा सडक पूर्वाधार नै व्यवस्थित भइनसकेको अवस्था छ । दीर्घकालीन सोचविना बनाइएका पुराना संरचना अस्तव्यस्त भएकाले पनि वातावरण सुहाउँदो सहरको योजना कार्यान्वयनमा समस्या भएको सरकारी अधिकारीहरू बताउँछन् । व्यवहारिक नहुने खालको नीति–कार्यक्रमले कार्यान्वयनमा जटिलता देखिने गरेको उनीहरूको भनाइ छ ।

वीरेन्द्रनगर प्रदेशको राजधानी सहर हो । यहाँ भर्खर मात्र व्यवस्थित सडक पूर्वाधारका काम हुन थालेका छन् । जसले गर्दा साइकलमैत्री सहरका रूपमा विकास गर्ने घोषणा गरेपनि त्यसले सार्थकता पाउन नसकेको हो । आर्थिक वर्ष २०७६/०७७ मा साइकल मार्ग निर्माण शीर्षकमा बजेट विनियोजित गरिएको थियो । कार्यक्रम कार्यान्वयन नभएपछि रकम फ्रिज भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त बजेट संघीय सरकार अन्तर्गतको हो । सुब्बाकुना–बाङ्गेसिमल साइकल मार्ग योजनाको कामै नभइ बजेट फिर्ता गएको मन्त्रालयका अधिकृत भिमबहादुर कार्कीले बताए । उनले साइकल मार्गका लागि प्रारम्भिक अध्ययनका केही काम मात्रै भएको जनाए । पछिल्लो समय वीरेन्द्रनगरमा साइकल प्रयोग गर्नेहरूको संख्या बढेपनि त्यसलाई प्रोत्साहन गर्ने खालका नीति–कार्यक्रम तथा संरचनाको अभाव छ । साइकलमैत्री सडक संरचना नहुँदा समस्या हुने गरेको प्रयोगकर्ताहरूको गुनासो छ ।

बढ्दो जनसंख्या र व्यवस्थित गुरुयोजनाको अभावमा पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर अस्तव्यस्त बनेको छ । केही वर्ष पहिलेसम्म सुन्दरनगरको पहिचान बनाएको नगरपालिका सरोकारवालको उदासीनताका कारण कुरूप बन्दै गएको हो । वीरेन्द्रनगर उपत्यकाको दक्षिणी भाग, जहाँको जमिन अन्न उब्जनीका लागि उर्वर मानिन्थ्यो । त्यहाँ अहिले अधिकांश जमिन प्लटिङ गरिएका छन् । खेतीयोग्य जमिन घना बस्ती बन्दै गएको छ । सडक लगायतका भौतिक संरचना जथाभाबी निर्माण गरिँदा नगरलाई वातावरणमैत्री बनाउने योजनामा अवरोध पुगेको हो । वीरेन्द्रनगरलाई सुन्दरनगरीकै रूपमा फर्काउन प्रदेश र स्थानीय तहले नीति–कार्यक्रम ल्याएपनि कार्यान्वयनमा चुनौती थपिदै गएको छ ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार ०५:०३