अस्थिरताको अर्को खेल
नेपाली राजनीति सधैँ अस्थिर रह्यो । समयक्रमसँगै विभिन्न उचार–चढाप आए । व्यवस्था बदलियो, शासक फेरिए । नयाँ संविधान बन्यो । नयाँ संविधानअनुसार संघीय शासन प्रर्णाली अवलम्बन गरियो । तीन तहका सरकार बने । मुलुकको राजनीतिमा धेरै कुरा फेरिए, तर एउटा प्रवृत्ति भने पेरिएन । बरु दोहोरिरह्यो । राजनीतिक अस्थिरता अन्त्य हुन सकेन । बरु थप मौलायो । संविधान जारी भएपछि नागरिकले गरेको सबैभन्दा ठूलो अपेक्षा थियो, राजनीतिक स्थायित्वका साथमा आर्थिक विकास र समृद्धि । किनभने लामो समयको आन्दोलन र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भएको थियो । नयाँ संविधान बनिसकेको थियो । मुलुक दश वर्ष लामो सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आइसकेको थियो । अर्थात् मूलभूत राजनीतिक आन्दोलन सफल भइसकेको थियो । जनताले छानेका प्रतिनिधिमार्फत लेखिएको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको थियो । यी सबै उपलब्धिहरूको संस्थागत गर्नु नै संविधान जारी भएपछिको मुख्य कार्यभार थियो । राजनीतिक लडाइँ अब विकास र समृद्धिको अभियानमा रूपान्तरिक गर्नुपर्ने दायित्व राजनीतिक दलहरूको काँधमा थियो । तर त्यसो हुन सकेन ।
नयाँ संविधान बनेसँग नागरिकमा आशाको सञ्चार भयो । त्यसमाथि मुलुकका दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भयो । बहुमत प्राप्त सोही दलले सरकार बनायो । जतिबेला पाँच वर्षे कार्यकालसहितको स्थायी सरकार बनेको अपेक्षा गरिएको थियो । तर यो छोटो अवधिमै मुलुक पुनः अस्थिरतातर्फ धकेलियो । अस्थिरताले निरन्तरता पायो । यसबीच केही अनपेक्षित र जटिल घटनाक्रम देखा परे । पार्टीभित्रको आन्तरिक कलह मिलाउन नसकेर विभाजनको अवस्थामा पुग्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निणर्य गरे । यद्यपि उक्त निणर्य सर्वोच्च अदालतले उल्ट्याइदियो । संसद् पुनस्र्थापना भयो । तर त्यसको केही दिन नबित्दै सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै बदर भयो । उक्त फैसलाले मुलुकको राजनीतिक बाटो नयाँ दिशातर्फ मोडिदियो । आज पनि मुलुक त्यही अस्थिर र अन्योलग्रस्त बाटोमा हिँडिरहेको छ ।
विगतदेखि नै केन्द्रमा राजनीतिक लडाइँले अस्थिरताको विजोरोपण गर्दै आएको थियो । तर पछिल्लो समय प्रदेशमा पनि त्यही प्रवृत्ति देखियो । प्रदेशको राजनीति पनि स्थिर रहन सकेन । सत्ता–स्वार्थको खेलमा केन्द्रकै छायाँ प्रदेशमा प¥यो । नेतृत्व फेरबदल चलिरहेको छ । कर्णाली प्रदेशमा सरकारको नेतृत्व नफेरिएपनि राजनीतिक खेलको चक्रब्यूहमा भने पर्दैआएको छ । सरकारको कार्यकाल सकिन डेढ वर्षजति बाँकी रहँदा पुनः सरकार परिवर्तनको खेल सुरु भएको छ । राजनीतिक अस्थिरता मुलुक विकासको बाधा हो । विगतमा यही अस्थिरताकै कारण आर्थिक समृद्धिका लागि गर्नुपर्ने कामहरू हुन सकेनन् । मुलुकको नेतृत्वकर्ता राजनीतिक दलहरू सत्ता समीकरणको खेलमा व्यस्त रहे । कहिले एउटा समीकरण बनाएर अर्कोलाई ढाल्ने र कहिले अर्कोसँगको सहकार्यमा एउटालाई पछार्ने खेलले अस्थिरता निम्त्याइरह्यो । मुलुक फेरि त्यही ठाउँमा आइपुगेकेको छ ।
प्रकाशित मितिः ९ कार्तिक २०७८, मंगलवार ०५:००
सम्पादकीय ।