सुर्खेतलाइ अदुवाको पकेट क्षेत्र बनाइने

सुर्खेतलाई अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा विकास गरिने भएको छ । जिल्लामा अदुवा र बेसारको उत्पादनको सम्भावना धेरै भएकाले सरकारले पकेट क्षेत्रको रूपमा विकास गर्न लागेको हो ।

वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पोमा आइतवार सम्पन्न टक शो कार्यक्रममा कृषि विकास मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका वरिष्ठ कृषिविज्ञ वासुदेव काफ्लेले सुर्खेतमा अदुवा र बेसारको उत्पादन राम्रो सम्भावना भएको बताए । साथै उनले सुर्खेत र सल्यानलाई अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा विस्तार गर्ने रणनीति योजना बनाइएकोसमेत जानकारी दिएका हुन् ।

उनले हावापानी माटो अनुकूल उत्पादन हुने बालीलाई उच्च प्राथमिकतासहित ‘विशेष क्षेत्र’ तय गरी बजेट बाँडफाँड सुरु गरिएको बताए । काफ्लेका अनुसार सुर्खेत जिल्लालाई कृषिमा चिनाउने मुख्य बाली अदुवा र बेसार भएकाले अदुवा र बेसारको पकेट क्षेत्र बनाउन लागिएको हो । उनले गाविसमा कृषि प्रसार सेवा केन्द्र राखी अदुवा खेतीको लागि पहल गर्ने बताए । कृषिलाई व्यवसायीकरण गर्नको लागि ‘सुपर जोन’ कार्यक्रमको लागू गरिने काफ्लेको भनाइ थियो । त्यस्तै दाङलाई मकै पकेट क्षेत्रको रूपमा विस्तार गरिने उनको भनाइ थियो ।

स्याउको लागि जुम्लालाई पकेट क्षेत्र, धानको लागि बर्दिया र प्युठानलाई पकेट क्षेत्र बनाउने रणनीति योजनामा समावेश गरिएको छ ।
काफ्लेका अनुसार जुम्लामा सुपर जोन कार्यक्रम अन्तर्गत स्याउलाई लिइनेछ । रणनीति योजना बनाइए पनि काम गर्नका लागि चुनौतीहरू पनि रहेको काफ्लेको भनाइ छ । उनले कृषियोग्य जमिनको विनाश, उन्नत प्रविधि र पूर्वाधारको विकास नहुनु, विशिष्टकृत व्यवसायीकरण र कृषि औद्योगीकरणको विस्तार नहुनु प्रमुख चुनौती रहेको बताए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले सुर्खेत जिल्ला अदुवा र बेसारको पकेट क्षेत्र बनाउनको लागि कार्यक्रम लागू गरिने बताए । गाविसमा कृषि प्रसार सेवा राखी अदुवा र बेसारको उत्पादन गर्नमा सहयोग गर्ने भनिए पनि जनशक्तिको अभावका कारण समस्या भएको कोइरालाको भनाइ छ । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, किसान, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २७ मंसिर २०७३, सोमबार ११:५०