एक करोडको पञ्चवर्षीय योजना
सुर्खेतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गंगामाला देउतीबज्यै मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । मन्दिरलाई व्यवस्थित गर्नुका साथै भौतिक पूर्वाधारहरू थप गर्नेगरी गुरुयोजना निर्माण गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको गुरुयोजना अनुसार मन्दिर परिसरमा विवाह मण्डप, सेमिनार हल, धर्मशाला, बधशाला, अर्पण स्थल, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । त्यसैगरी मन्दिरभित्रै पार्किङ्गस्थल समेत निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका सदस्य तोरण विकले जानकारी दिए । उनका अनुसार मन्दिर नजिकै रहेको खोलामा पक्की पुल पनि निर्माण गरिनेछ ।
गुरुयोजना अनुसारका भौतिक पूर्वाधार निर्माण गर्न एक करोड रूपैयाँ खर्च लाग्ने जनाइएको छ । तर समितिसँग आवश्यक बजेट छैन । त्यसैले सरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य गरेर गुरुयोजना कार्यान्वयन गराउने लक्ष्य समितिले लिएको छ । सदस्य विकले भने, ‘हामीसँग बजेट छैन, तर प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतको प्रमुख पर्यटकीय स्थलमध्येको एक देउतीबज्यै मन्दिरलाई थप व्यवस्थित बनाउनका लागि गुरुयोजना बनाइएको हो र यसको कार्यान्वयनका लागि सबैसँग सहयोगको आग्रह गर्दछौं ।’
आवश्यक बजेट जुटाउन पर्यटन मन्त्रालयसँग पहल भइरहेको र सम्बन्धित अन्य मन्त्रालयसँग पनि पहल गरिने विकले जनाए । यसका साथै स्थानीय निकायहरू जिल्ला विकास समिति, नगरपालिकाका साथै निजी क्षेत्र र दाताहरूको सहयोगमा आवश्यक बजेट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । पाँच वर्षभित्र गुरुयोजना अनुसार पूर्वाधार विकास गरिसक्ने जनाइएको छ । २०२९ सालमा निर्माण गरिएको देउतीबज्यै मन्दिरको २०५९ सालमा पुनर्निर्माण गरिएको थियो ।
मन्दिरको स्वामित्वमा १४ कठ्ठा जग्गा छ । देउतीबज्यै मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन जिल्लाको प्रमुख पर्यटकीय स्थलहरूमध्येको एक पनि हो । त्यसैले यसको संरक्षण र विकास जरुरी रहेको व्यवस्थापन समितिका सदस्य विक बताउँछन् । उनले जिल्लाको पर्यटन विकासमा समेत मन्दिरले सघाउ पु¥याउने बताए ।
प्रकाशित मितिः २७ मंसिर २०७३, सोमबार ११:४३
साझा बिसौनी ।