ट्रयाक पूरा नहुँदै अर्ब भुक्तानी

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा अहिलेसम्म एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसक्यो । आयोजनाले एक वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रतिवेदन सडक विभागमा बुझाएको हो । तर, फिल्डमा गएर हेर्दा यथार्थ अर्कै छ । गाडी गुड्नु त परको कुरा, ट्रयाक नै खुलिसकेको छैन । न त ग्याभिङ, वाल, नाली, पुल मर्मत र बाइन्डिङकै काम सकिएको छ ।

निर्माण थालिएको सात वर्ष बित्दा पनि निर्माणपक्षको लापरबाहीकै कारण योजना सम्पन्न हुन नसकेको हो । सम्झौताअनुसार सडक दुई वर्षभित्रै बनिसक्नुपथ्र्यो । एकैसाथ सुरु लोकमार्गको रुकुम र दैलेख खण्डमा भने २ वर्षअघिदेखि नै यातायात सञ्चालनमा आइसकेको छ । जाजरकोट खण्डमा आधा दर्जन कम्पनीले हात हाले पनि कसैले जिम्मेवारी पूरा गरेनन् ।

कुदु–सुयाँडा ८२ किमिको जाजरकोट खण्डअन्तर्गत कार्कीगाउँ र झाप्राको सिमानास्थित मन्ताभीर, कालढुंगा, थलहबजार, दशेरा २ को चुवादेउली भीर, दशेराको फाल्मा र साल्माबीचको भुसखोलालगायतका स्थानमा सडक अलपत्र छ । मन्ताभीर, थलहगार, भेरी, बंग्रेखोला र झुप्राखोलामा पुल नबन्दा स्थानीय अन्योलमा छन् ।

कार्यक्षेत्रमा यस्ता बेथिति कायमै रहे पनि मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङले भने अधुरो सडक खण्डको ट्रयाक खोल्ने काम पूरा भइसकेको भन्दै एक वर्षअघि विभागमा प्रतिवेदन बुझाएको छ । सडक बन्ला र सुविधा पाइएला भनेर पर्खिरहेका स्थानीय आयोजनाको यस्तो रबैयाबारे सुनेपछि आक्रोशित छन् । उनीहरूले छिटोभन्दा छिटो सडक बनाएर यातायात चलाउन माग गरेका छन् । लोकमार्ग निर्माणमा लापरबाही भएको नागरिक अगुवा केशवजंग शाहले बताए । ‘एकैसाथ सुरु दैलेख र रुकुम खण्डमा यातायात चलिसक्यो, यहाँ भने अझै निर्माण अधुरो छ । कसको लापरबाही हो रु सरोकारवाला सबैको ध्यान जाओस्,’ उनले भने ।

मन्ताभीर खण्ड जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न नसकेको डिभिजन इन्जिनियर नारायणप्रसाद निउरेले बताए । त्यस्तै धनञ्जयरसिद्धार्थ जेभीले पनि काँडा–झाप्रा खण्डको निर्माण पूरा गर्न नसकेको उनको भनाइ छ । ‘कात्तिक मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने गरी म्याद थप भएको थियो,’ निउरेले भने, ‘कार्कीगाउँदेखि झाप्रासम्म र मन्ताभीर समेतको २ हजार ९ मिटर ट्रयाक खोल्ने गरी सुरु वर्ष नै ठेक्का भएकोमा सम्बन्धित पक्षको मिलेमतोमा २ हजार ४ मिटर मात्र खनेर पूरै भुक्तानी लिइएछ । बाँकी ५ सय मिटर कडा चट्टान काट्ने काम भने सुरु नै भएको छैन । पुनस् ठेक्का भएको उक्त भीर क्रोनिङ बन्यो ।’

मन्ताभीर काट्न व्यवसायी तयार नभएको निउरेले बताए । ‘जसरी पनि सम्झौता म्यादभित्र काम पूरा गर्नैपर्छ । आगामी पुससम्म पूरा नगरे व्यवसायीको ठेक्का तोड्ने र फर्मलाई कालो सूचीमा राख्ने निर्णय भएको छ,’ उनले भने । उनका अनुसार कतिपय व्यवसायीले अर्काको फर्मबाट काम लिने र सुरु गर्ने, पेस्की लिने, अनि काम पूरा नगरी अलपत्र छाड्ने गरेका छन् । सम्झौतापछि १५ महिनाको म्याद हुने नियम छ । उक्त म्यादमा कसैले काम पूरा गरेका छैनन् । त्यस्ता कम्पनीलाई कालो सूचीमा राख्ने बाहेकको कारबाही गर्न नसकिने उनको भनाइ छ ।

इकान्तिपुरबाट

प्रकाशित मितिः   २६ मंसिर २०७३, आईतवार १९:१५