छानविन गर्न आयोगको टोली सुर्खेतमा
र्यालीमै छात्राको मृत्यु भएपछि घटनाको छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत आएको छ । आयोगले र्यालीमै छात्राको ज्यान जानु गम्भीर घटना भन्दै छानविन प्रक्रिया थालेको हो । आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जबाट आएको टोलीले आइतवारबाट अनुसन्धान जारी राखेको छ ।
वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटनका क्रममा बिहीवार निकालिएको र्यालीमा घण्टौंसम्म लाम लाग्दा १३ वर्षीया समीक्षा आचार्य बेहोस भएर ढलेकी थिइन् । होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने उनको उपचारकै क्रममा मृत्यु भएको थियो । आयोगले विद्यालयसँग बयान लिइसकेको छ ।
यस्तै आइतवार घटनास्थलका प्रत्यक्षदर्शी र महिला तथा बालबालिका कार्यालयसँग पनि सोधपुछ गरेको मानवअधिकार अधिकृत रमेशकुमार थापाले बताए । उनका अनुसार जिल्ला शिक्षा, जिल्ला प्रशासन, प्रहरी र मेला आयोजक सुर्खेत उद्योग वाणिज्य संघसँग पनि घटनाको बारे अनुसन्धान गरिनेछ । आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले भने, ‘यो घटना गम्भीर हो, हामी गहिरो अनुसन्धान गर्छौं । दोषीलाई कारबाहीको सिफारिस पनि गर्नेछौं, घटनामा राज्यका निकाय बढी जिम्मेवार छन् ।’ विद्यालय शान्ति क्षेत्र घोषणा भएको र यसको उल्लंघन गर्दै सडकमा विद्यार्थी उतारिएको यो घटनामा दोषीलाई आफूहरूले कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने उनले जनाए ।
सुर्खेतलाई २०७० फागुन १४ गते विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर उक्त घोषणा उल्लंघन गर्दै बालबालिकालाई विद्यालय नै बन्द गरेर ¥यालीमा उतारिएको भन्दै अधिकारकर्मीले कारबाहीको माग गरिरहेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान सुर्खेतका
संयोजक टीकाराम आचार्यले यो घटनाको छानविन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरे । यता जिल्ला शिक्षा कार्यालयले पनि विद्यार्थीलाई आफ्नो अनुमति विनै ¥यालीमा सहभागी गराएको भन्दै विद्यालयसँग स्पष्टीकरण सोधेको छ । उनले अब जिल्लामा बालबालिकाको प्रयोगमा प्रतिबन्ध नै लगाउने जानकारी दिए । विद्यार्थी सङ्गठनहरूले भने दोषीलाई कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति, समीक्षाको नाममा विद्यालयले अक्षयकोष स्थापना गर्नुपर्ने र सार्वजनिक कार्यक्रममा बालबालिकाको प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेका छन् । अनेरास्ववियुले स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतले उक्त घटनाको सत्य तथ्य छानविन गर्न माग गरेको छ । सम्बन्धित सबै पक्षलाई समेटेर छानविन समिति गठन गर्न र दोषीलाई कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
जिल्ला शिक्षा कार्यालय सुर्खेत, सुर्खेत होराइजन एकेडेमी र महोत्सव आयोजकले उक्त घटनाको जिम्मेवारी लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने, आगामी दिनमा यस्ता कार्यक्रममा विद्यार्थीहरूलाई प्रयोग गर्नबाट रोक्न प्रतिबद्धता व्यक्त गरिनुपर्ने, मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने र सुर्खेत होराइजन एकेडेमीले मृतकका नाममा तत्काल अक्षयकोष स्थापना गर्नुपर्ने माग अनेरास्ववियुको छ । पाँच बुँदे मागसहित अनेरास्ववियुले आइतवार जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
साझा बिसौनी ।